भारतको तिरुपति मन्दिरमा जनावरको बोसो मिसाइएको लड्डु !

भारतको तिरुपति मन्दिरमा जनावरको बोसो मिसाइएको लड्डु !


काठमाण्डु-भारतको आन्ध्र प्रदेशस्थित हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल तिरुपति मन्दिरको प्रसादमा जनावरको बोसो मिसाइएको पाइएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले यसअघिको सरकारका पालामा प्रसादको रूपमा लड्डु बनाउन शुद्ध घीउको सट्टा जनावरको बोसो मिसिएको घिउ प्रयोग गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियो ।

शेषाचालम पर्वतमा अवस्थित तिरुमला तिरुपति देवस्थान विश्वको सबैभन्दा धनी तीर्थस्थल मध्ये एक हो । यो तीर्थयात्रा शेषाचालम पर्वतमा छ ।

भगवान् बैङ्कटेश्वरको यो मन्दिर राजा तोन्डमनले बनाएका थिए । पछि चोल, पाण्ड्य र विजयनगरका राजाहरूले पनि यस मन्दिरका लागि योगदान पुर्‍याए । मन्दिरको प्राणप्रतिष्ठा ११ औँ शताब्दीमा रामानुजाचार्यले गरेका थिए ।

भगवान् बैङ्कटेश्वरले पद्मावतीसँग विवाह गर्ने योजना बनाउँदा पैसाको अभाव भएकोले धनका देवता कुबेर कहाँ गएर एक करोड रुपैयाँ र एक करोड सुनको सिक्का मागेको धार्मिक मान्यता छ ।

तिरुमला मन्दिरमा हरेक वर्ष करिब एक टन सुन चढाइन्छ । मुख्य मन्दिर परिसर बलियो पर्खालले घेरिएको छ र मन्दिर भित्र फोटो खिच्न अनुमति छैन । अहिले चर्चामा रहेका लड्डु मन्दिरको गोप्य भान्छामा तयार पारिन्छन् । यो भान्सालाई पोट्टु भनिन्छ ।

तिरुमला तिरुपति देवस्थानमका अधिकारीहरूका अनुसार भक्तजनहरूलाई लड्डु, वडा, अप्पम, मनोहरम, जेरी जस्ता प्रसाद वितरण गरिन्छ । यीमध्ये, लड्डु सबैभन्दा पुरानो र लोकप्रिय प्रसाद हो । प्रसादका रूपमा दिने चलन ३०० वर्षदेखि चलिआएको बताइन्छ ।

सन् २००९ मा तिरुपति लड्डुलाई भौगोलिक सङ्केत दिइएको थियो । यहाँको लड्डु चना, मखन, चिनी, काजु, किसमिस र अलैँचीबाट बनाइन्छ । तिरुमला तिरुपति देवस्थानम (टीटीडी)का कार्यकारी अधिकृत श्यामला रावले मिसावटको पुष्टि गर्दै यसअघि वनस्पति घिउ मात्रै मिसाइने पाइएको र अहिले बोसोको मात्रा पनि पाइएको बताएका हुन् ।

मन्दिरमा घिउको आपूर्ति गर्दै आएका पाँच कम्पनीमध्ये एउटाको गुणस्तरबारे प्रश्न उठेपछि उक्त कम्पनीलाई कालोसूचीमा राखिएको छ । तमिलनाडुको एआर डेरी फुड्स कम्पनीबाट मगाइएको १० ट्याङ्कर घिउमध्ये छ ट्याङ्कर घिउ प्रयोग भइसकेपछि चार ट्याङ्करको नमुना परीक्षणको प्रतिवेदनमा मिसावट देखिएपछि फिर्ता पठाइएको एक अधिकारीले बताएका छन् । तर एआर डेयरी फुड्सले एक विज्ञप्ति जारी गर्दै शुद्ध घिउ दिइएको दाबी गरेको छ ।

मन्दिर व्यवस्थापन गर्ने कार्यालय टीटीडीले केही घिउको नमुना परीक्षणका लागि गुजरातको राष्ट्रिय दुग्ध विकास बोर्डको प्रयोगशालामा पठाएको थियो । प्रयोगशालाको प्रतिवेदनमा घिउमा ‘एस भ्यालु’ कहिले बढी र कहिले कम देखिएको थियो । त्यसको विश्लेषणबाट बोसो मिसाइएको निष्कर्ष अधिकारीहरूले निकालेका थिए ।

पाँच वटा मापदण्डका आधारमा गरिएका परीक्षणमध्ये सबै मापदण्डमा घिउको नमुनामा मिसावट रहेको देखिएको थियो । प्रयोगशालाले वनस्पतिको तेल र जनावरको बोसो दुवै मिसावट भएको प्रतिवेदन दिएको बताइएको छ ।

एक विज्ञले उक्त प्रतिवेदनका आधारमा जनावरको बोसो मिसावट भएको हो वा होइन भन्न नसकिने बताए । ‘भारतमा सामान्यतः घिउमा पाम आयल मिसाइन्छ । तर टीटीडीको हकमा के भयो म ठ्याक्कै भन्न सक्दिनँ,’ उनले भनेका छन् । अघिल्लो सरकारले घिउ खरिदका लागि बोलपत्र आह्वान गर्दा प्रतिकिलो ३१९ भारतीय रुपैयाँका दरले गाईको घिउ उपलब्ध गराउने सहमति भएको थियो । तर धेरै विज्ञहरूले यो मूल्यमा गाईको घिउ उपलब्ध गराउन नसकिने बताएका छन् ।

प्रसादको गुणस्तरलाई लिएर एकातिर भक्तजनको भावनामा ठेस पुगेको छ भने अर्कोतिर यस विषयमा राजनीति पनि सुरु भएको छ । पूर्वमुख्यमन्त्री जगनमोहन रेड्डीले अहिलेका मुख्यमन्त्री चन्द्रबाबु नायडूको १०० दिनको शासन राम्रो नभएका कारण ध्यान मोड्नका लागि उनले यो मुद्दा उठाएको आरोप गाएका छन् ।

भाजपा, जनसेना, कांग्रेस लगायत प्रमुख दलका नेताहरूले घिउमा भएको दाबी गरिएको मिसावटको विषयमा विस्तृत अनुसन्धान गर्न माग गरेका छन् । सेप्टेम्बरको सुरुबाट लाड्डु लिन कुपन देखाउने व्यवस्था गरिएको छ । सबैलाई एउटा लड्डु सित्तैमा दिइन्छ । त्यसबाहेक थप एउटा लड्डु लिन चाहनेले ५० रुपैयाँ भारु तिर्नुपर्छ ।

मन्दिरमा भक्तजनका लागि ७,५०० सय वटा ठूला लड्डु र ३,५०० सय वडा बनाउने गरिन्छ । सन् २००८ सम्म कसैले एउटा लड्डुबाहेक प्रसाद चाहियो भने २५ भारतीय रुपैयाँमा दुई वटा लड्डु दिइन्थ्यो । यसपछि मूल्य बढाएर ५० रुपैयाँ भारु पुर्‍याएपछि विवाद भएको थियो । बीबीसीको रिपोर्टमा आधारित