सरकारी कार्यालयमा कार्यालय समयमा ‘टीएमएस’ नचल्ने

सरकारी कार्यालयमा कार्यालय समयमा ‘टीएमएस’ नचल्ने


काठमाण्डु – मुलुकभरका सरकारी कार्यालयमा कार्यालय समयमा अब सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचल्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न लिखित निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी शाखा अधिकृत ज्योती पौडेलले आइतबार लिखित निर्देशन दिँदै टिएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएकी हुन् । सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि लिखित निर्देशन दिइएको छ ।

सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेपछि प्रधानमन्त्री कार्यालयले नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले यो व्यवस्था सबै कार्यालयमा लागू हुने जानकारी दिए ।