एक बर्षमा ६ नेपालीसहित २१ पर्यटकको लेक लागेर मृत्यु

एक बर्षमा ६ नेपालीसहित २१ पर्यटकको लेक लागेर मृत्यु


काठमाण्डु– पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए ।

६ नेपालीसहित ११ भारतीय, मलेसियाका २ , युक्रेनका १ र १ बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे । अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आव २०७८–७९ मा छजनाको लेक लागेर मृत्यु भएकामा आव २०७९–८० मा १२ जनाको लेक लागेर मृत्यु भएको थियो ।

कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आवमा १४ जनाले लेक लागेर मुस्ताङमा ज्यान गुमाए । लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन् ।

१४ मध्ये १० भारतीय, ३ नेपाली र १ युक्रेनी नागरिक रहेको प्रहरी निरीक्षक अधिकारीले बताए । पछिल्लो समय मुक्तिनाथमा लेक लागेका पर्यटकको प्रारम्भिक उपचार र उद्धारका लागि आकस्मिक कक्षसमेत सञ्चालनमा आएको छ ।

पर्यटक पथप्रदर्शक दिवस गुरुङले भारतीय पर्यटक गाडीबाट एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या देखिने गरेको बताए । “हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ, कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासि पुग्दा लेक लाग्ने हुन्छ”, उनले भने, “यो समस्या मुस्ताङको मुक्तिनाथ र मनाङको तिलिचो ताल जाने पर्यटकमा बढी देखिने गरेको छ ।”