काठमाण्डुका ४५ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

काठमाण्डुका ४५ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान


काठमाण्डु – काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४५ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा सञ्चालित ट्राफिक नियन्त्रण तथा रेखाचित्रण पाँचौ समूह अन्तर्गत तालिम प्रदान गरिएको हो ।

काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आईतबार आयोजित तालिम समापन कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे ।

उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक बोहराले सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरूलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके दुर्घटनाको अनुसन्धान फलदायी हुने बताउँदै तालिममा सिकाइएका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानहरूलाई कार्यक्षेत्रमा लागू गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ज्ञानबहादुर माझीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ कार्यदिन अवधिको तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ३० जना गरी कूल ४५ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिए ।