भारतीय प्रधानमन्त्रीकाे भ्रमणमा बिस मिनेटसम्म सवारी राेकिाे

भारतीय प्रधानमन्त्रीकाे भ्रमणमा बिस मिनेटसम्म सवारी राेकिाे


काठमाडौँ- जनकपुरको कार्यक्रम सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा यहाँको सडक २५ देखि ३० मिनेटसम्म खाली गराइने भएको छ। दुईदिने भ्रमणका लागि आएका मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ।

उनी केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रनेछन्। सुरक्षालाई ध्यानमा राखी मोदीको सवारी चल्ने रुटका सडक खाली गर्न लागिएको हो। जसका कारण झन्डै आधा घन्टा सास्ती भोग्नेछन्।

विमानस्थलबाट उनी गौशाला, चाबहिल हुँदै बौद्धस्थित हायात होटलमा पुग्नेछन्। मोदीको हेलिकोप्टर विमानस्थलमा अवतरण भएलगत्तै सिनामंगलदेखि सडक खाली गराउने तयारी छ। मोदीको कार्गेड चाबहिल पुगेपछि मात्र सिनामंगलबाट सवारीसाधन चल्न दिइने ट्राफिक महाशाखाका एक अधिकारीले बताए। उनका अनुसार सो क्रममा दुईतर्फी रुपमै सवारी प्रभावित हुनेछन्।

आजै हायात होटलबाट ‘गार्ड अफ अनर’ ग्रहण गर्न मोदी टुँडिखेल प्रस्थान गर्नेछन्। चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर, माइतीघर हुँदै उनी टुँडिखेल जानेछन्। मोदी गौशाला कटेपछि मात्र बौद्धबाट सडक खुला गरिनेछ। टुँडिखेलमा मोदी करिब ५ मिनेट मात्र बस्नेछन्। गार्ड अफ अनरका लागि ४ बजेको समय तोकिए पनि उनी जनकपुरबाट आउन निर्धारित समयभन्दा ढिला भएकाले समय सर्न सक्नेछ।

आजै उनी उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न बहादुर भवन कान्तिपथ र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने क्रममा जमल लैनचौर महाराजगञ्ज हुँदै बूढानीलकण्ठ चल्ने सवारी रोकिनेछन् । बेलुका ६ बजे विभिन्न दलका नेतालाई भेट्न द्वारिका होटल पुग्ने क्रममा महाराजगञ्ज, चाबहिल, गौशालामा चल्ने सवारी साधन प्रभावित हुनेछन् ।

शनिबार मुक्तिनाथ जानलागेका मोदी बिहान ६ बजे चाबहिल गौशालाका सवारी आगमनमा समस्या पर्नेछ भने मुक्तिनाथ दर्शन गरेर फर्केपछि पशुपतिको दर्शन गर्न जाँदा सोही क्षेत्रमा सवारी आगमनमा समस्या पर्नेछ ।

शनिबार दिउँसो नागरिक अभिनन्दमा सहभागी हुन राष्ट्रियसभा गृह जाने क्रममा चाबहिल, महाराजगञ्ज, लैनचौरको सवारी आगमन प्रभावित हुनेछन् भने दिउँसो स्वदेश फर्कने क्रममा बानेश्वर तीनकुने हुँदै सिनामंगलको सवारी आगमन केहि बेरका लागि प्रभावित हुने महाशाखाले जनाएको छ । रासस