टीआरसी कार्यदलको बैठक सहमति नजिक

टीआरसी कार्यदलको बैठक सहमति नजिक


काठमाण्डु-सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले सरोकारवालासँग छलफल गरेर सोमबार बस्ने कार्यदलको सदस्य जनार्दन शर्माले जानकारी दिए ।

‘सैद्धान्तिक रूपले टुङ्ग्याउने सहमति भएको छ । नमिलेको विषयमा नेतृत्व समक्ष प्रतिवेदन बुझाउने गरी काम भइरहेको छ । व्यवहारिक रूपले शब्दहरू मिलाउने काम बाँकी छ । सरोकारवालासँग थप परामर्श गरेर सोमबार बस्ने गरी बैठक सकिएको छ’, बैठकपछि शर्माले भने ।

शर्माका अनुसार कानुन सचिव, आयोगका सचिव, महान्यायाधिवक्ता, कानुन मन्त्री लगायतको सहयोग लिइनेछ ।

कार्यदलका संयोजक महेश बर्तौलाले भने, ‘हामी यो बिषयलाई अन्तिम रुप दिँदैछौं । फाइनल गर्नको लागि केही रायहरु पनि सोमबारसम्म लिन्छौं । परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछ ।

पीडितमैत्री, हिजोको सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने उनले बताए । अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई बुझाउने बताए ।

कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री लेखक, एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौँला र नेकपा माओवादी केन्द्रको तर्फबाट उपमहासचिव जनार्दन शर्मा छन् ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ । दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल सुरू भए पनि निष्कर्षमा पुगिसकेको छैन ।