अब पुरुषले ‘ट्रिपल तलाक’ भनेर सम्बन्त्रविच्छेद गर्न नपाइने

अब पुरुषले ‘ट्रिपल तलाक’ भनेर सम्बन्त्रविच्छेद गर्न नपाइने


एजेन्सी – भारतमा मुस्लिम पुरूषले आफ्नी श्रीमतीलाई तीन पटक ‘तलाक’ भनेर सम्बन्धविच्छेद गरे अपराध हुने भएको छ ।

भारतको माथिल्लो सदन राज्यसभाले मंगलबार ट्रिपल तलाकसम्बन्धी कानुन पारित गरेसँगै अब अब कुनै पुरूषले ट्रिपल तलाक भनेर सम्बन्धविच्छेद गरे तीन वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ ।

विधेयक पारित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘एउटा पुरातन र मध्यकालीन अभ्यासलाई अन्ततः इतिहासको फोहोर टोकरीमा फालिएको छ, ‘संसदले ट्रिपल तलाकलाई उन्मुलन गरेर मुस्लिम महिलामाथि भएको ऐतिहासिक गल्तीलाई सच्याएको छ । यो लैंगिक न्यायको जित हो यसले समाजमा समानता बढाउनेछ ।’

सन् २०१७ मा भारतको सर्वोच्च अदालतले ट्रिपल तलाकलाई असंवैधानिक भएको फैसला गरेको थियो ।

भारतमा मुस्लिम समुदायका पुरूषले आफ्नी श्रीमतीलाई जुनसुकै माध्यम (लेखेर, बोलेर, फोन, इमेल, सामाजिक सञ्जालमा सन्देश) बाट तीन पटक तलाक भनेर सम्बन्धविच्छेद गर्ने चलन थियो ।