सय दिनमै ट्रम्प अलोकप्रिय !

सय दिनमै ट्रम्प अलोकप्रिय !

अधिकांश अमेरिकी ट्रम्पको कार्यशैलीबाट असन्तुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति पद सम्हालेको एक यो हप्ता सय दिन पुग्दैछ । यो अवधिमा सार्वजनिक गरिएको एक सर्वेक्षण अनुसार धेरैजसो अमेरिकीहरू राष्ट्रपति ट्रम्पप्रति असन्तुष्ट देखिएका छन् ।

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल अप्रिल ३० मा १०० दिन पूरा हुँदैछ।

असन्तुष्ट हुनेमा ट्रम्पका पार्टी रिपब्लिकनहरू पनि छन् । उनीहरू विभिन्न महत्वपूर्ण मुद्दाहरूमा ट्रम्पप्रतिको विश्वास गुमाउँदै गएको बताएका छन । सर्वेक्षणले के देखाएको छ भने बहुमतले ट्रम्पको दोस्रो कार्यकाललाई अहिलेसम्म डर लाग्दो भनेर विश्लेषण गरेका छन् ।

सिएनएनले गरेको सर्वेक्षण अनुसार पहिलो सय दिनका उनको ‘एप्रुभल रेटिङ’ ४१ प्रतिशत रह्यो । पहिलो सय दिनको यो एप्रुभल रेटिङ अमेरिकी इतिहासमा पछिल्लो सात दशककै सबै भन्दा कम हो ।

आर्थिक मामिला र ट्रम्पको आप्रवासन नीतिको कमजोर मूल्यांकनसँगै, सर्वेक्षणमा केवल २४ प्रतिशत अमेरिकीहरूले मात्र ट्रम्पले राष्ट्रपति हुँदा सहि प्राथमिकताहरूमा ध्यान दिएको विश्वास रहेको जनाएका छन् ।

राष्ट्रपति ट्रम्पप्रति झुकाव राख्ने फक्स न्यूजले गरेको सर्वेक्षणले पनि उनलाई राहत दिएको छैन । सर्वेक्षण अनुसार केवल ३८ प्रतिशत अमेरिकीहरूले ट्रम्पको आर्थिक प्रदर्शनलाई अनुमोदन दिएका छन् भने ५६ प्रतिशतले अस्वीकृति जनाएका छन् ।

फक्स न्यूजको सर्वेक्षण अनुसार ५८ प्रतिशत सहभागीहरूले ट्रम्पको समग्र प्रदर्शनप्रति असन्तुष्टि जनाएको, ५९ प्रतिशतले मुद्रास्फीतिसम्बन्धी नीतिमा अस्वीकृति जनाएको र केवल तीनमध्ये एक अमेरिकीले ट्रम्पका नीतिहरू अर्थतन्त्रलाई सहयोग पुर्‍याइरहेको बताएका छन् ।

ट्रम्पको लोकप्रियता र कार्यकाल प्रारम्भिक चरणमा रहेको समयमा यो सर्वेक्षण आएको हो ।

सर्वेक्षणमा सहभागी आधाभन्दा बढीले राष्ट्रपति ट्रम्पको कामप्रति असन्तुष्टि जनाएका छन् । तर, बहुसंख्यकले उनको भन्सार नीति र संघीय कर्मचारी कटौतीको विरोध गरेका छन् ।

यी तीव्र आलोचनाहरू ट्रम्पको दोस्रो कार्यकालको १०० दिन पुग्न लाग्दा आएका हुन् । यसले संकेत गर्छ भने अमेरिकी जनताले जुन उत्साहका साथ उनलाई जिताएका थिए, अहिले थाकेका छन ।

उता राष्ट्रपति ट्रम्पद्धारा आलोचना गरिने एसोसिएटेड प्रेस सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको एक सर्वेक्षणले ट्रम्पको प्राथमिकता सही स्थानमा केन्द्रित रहेकोमा रिपब्लिकनहरू समेत पूर्ण रूपमा विश्वस्त छैनन् ।

सर्वेक्षणमा सहभागी भएका रिपब्लिकनहरूको संकीर्ण बहुमत ५४ प्रतिशतले मात्रै ट्रम्पले सही प्राथमिकतामा ध्यान केन्द्रित गरेको बताएका छन् । तर स्वतन्त्र मतदाताहरू बीचमा ट्रम्पको स्थिति निकै कमजोर देखिएको छ ।

कतिपयले राष्ट्रपतिले आफ्नो अधिकारभन्दा बढी शक्ति प्रयोग गरिरहेका पनि टिप्पणी गरेका छन् ।

यस्ता विभिन्न सर्भेक्षणहरूमा जेनरेशन जी युवा पुस्ता (सन् १९९५ देखि २०१२ बीच जन्मिएका) मा स्थिति झन् गम्भीर देखिएको छ । सर्वेक्षणमा ६९ प्रतिशत जेन जी सहभागीहरूले ट्रम्पको आर्थिक नीति र जीवनयापनको लागत व्यवस्थापनप्रति अस्वीकृति जनाएका छन् । उनीहरूले धेरै ठाउँमा भाडा तिर्नसमेत समस्या भइरहेको बताएका छन् ।