एजेन्सी – अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प २४–२५ फेब्रुअरीमा दुई दिने भारत भ्रमणमा आउने भएका छन् ।
अमेरिकी राष्ट्रपतिको रुपमा ट्रम्पको यो पहिलो भारत भ्रमण हुनेछ । ट्रम्पको भारत भ्रमणको विषयलाई लिएर ह्वाइट हाउसको आधिकारिक ट्वीटर ह्यान्डलबाट यसको जानकारी दिइएको हो । भ्रमण गर्ने दिनको पनि घोषणा गरिएको छ ।
अमेरिकी राष्ट्रपतिले २४–२५ फेब्रुअरीमा नरेन्द्र मोदीसँग भेटघाट गर्ने ह्वाइट हाउसको ट्वीटमा उल्लेख गरिएको छ । ट्रम्पको यो भ्रमणले अमेरिका–भारतको रणनीतिक साझेदारीलाई थप बलियो बनाउने ट्रम्पले बताएका छन् ।
यो भ्रमणको अवधिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै उनकी पत्नी मेलानिया ट्रम्प पनि आउनेछिन् । ट्रम्प र उनकी पत्नी मेलानिया गुजरात जाने कार्यक्रम पनि रहेको छ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि भारतको भ्रमण गरेका थिए ।
ओबामाले २०१० मा पहिलो पल्ट र २०१५ मा दोस्रो पटक भारतको भ्रमण गरेका थिए । ट्रम्पको भ्रमणलाई लिएर गुजरात सरसकारले तयारी पनि सुरु गरेको छ ।
गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि अमेरिका भ्रमणमा गएका थिए । उनले टेक्सासमा हाउडी मोदी कार्यक्रममा पनि भाग लिएका थिए ।
प्रतिक्रिया