काठमाण्डु–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको बताएका छन् ।
अमेरिकी अधिकारीहरूले साउदी अरबमा भएको वार्तापछि वासिङ्टनले ३ वर्षे युद्ध रोक्ने प्रस्ताव गरेको केही हप्ताभित्रै युक्रेन र रुसबीच युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका थिए।
ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँगको कुराकानीमा भने ”मलाई लाग्छ कि हामी युक्रेनी भूमि, विद्युत् गृहको बारेमा कुरा गर्नेछौँ, युक्रेन र रूस दुवै पक्षबीच यस विषयमा धेरै छलफल भइसकेको छ। हामी पहिलो पटक यसको बारेमा कुरा गर्दैछौँ र केहि जमिनहरूमाथिको दावीबारे टुङ्गो लगाउने बिषयमा छलफल गर्दैछौँ।”
वासिङ्टन र किएभका युरोपेली सहयोगीहरूले मस्कोलाई युद्ध रोक्न दबाब दिइरहेका छन् तर पुटिनले यसबारे कुनै स्पष्ट जवाफ दिएका छैनन् । बरु शर्तहरूको एक शृङ्खला सूचीबद्ध गर्दै अमेरिकी प्रस्तावमाथि ‘गम्भीर प्रश्नहरू’ उठाएका छन् ।
केही दिनअघि पुटिनसँग केही घण्टा भेटवार्ता गरेका ट्रम्पका दूत स्टिभ विटकोफले सीएनएनसँगको कुराकानीमा भनेका, “दुई राष्ट्रपतिबीच यो साता निकै राम्रो र सकारात्मक छलफल हुनेछ ।”
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रेमलिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका समय ट्रम्प र पुटिनबीच वार्ता हुनेछ ।
कुनै पनि युद्धविराममा सहमत हुनुअघि मस्कोले पहिले ‘युद्धभूमिमा आफ्नो स्थिति सुधार्न’ चाहेको जेलेन्स्कीले बताएका छन् । एएफपी
प्रतिक्रिया