आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो

आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो


वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो भएको समाचार छ । अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको थियो ।

राष्ट्रपति ट्रम्प अमेरिकामा निर्वा्चित भएपछि यो नीति आएको थियो । यो अमेरिकी नीतिको अन्तर्राष्ट्रिय रूपमा व्यापक मात्रामा आलोचना भएको थियो । अमेरिकाजस्तो देशले पनि आफ्ना आमावावुसँगै बालबालिका पनि बस्न पाउनुपर्ने अधिकारको विरुद्धमा रहनु दुःखद भन्दै उहाँको व्यापक मात्रामा विरोध भइरहेकै बेला उनले उक्त निर्णयलाई उल्ट्याउने भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीका आफ्ना परिवारका सदस्य र बालबालिकालाई पनि साथैमा रहन अनुमति दिने आदेश दिने भएको हो । उनले यस नयाँ नीति समेटिएको आदेशमा बुधबारै हस्ताक्षर गर्ने बताइएको छ । यो निर्णय उनको नीतिको विरोध भएकोले भन्दा पनि त्यहाँका बालबालिकाको तस्बिर हेरर आफू पनि विचलित भएको ट्रम्पले बताएका छन् । सो नीति उल्टिनेगरी बुधवार हस्ताक्षर भएपछि राष्ट्रपति ट्रम्पले परिवारलाई एकै ठाउँमा बस्न दिइने पनि वासिङ्टनबाट प्राप्त भएका समाचारहरुमा बताइएको छ ।

तर आजको सो समाचारमा ती आदेशहरु कहिलेदेखि लागू हुने हुन् भन्ने बारेमा भने केही बताइएको छैन । यो आदेशपछि पनि आफ्नो प्रशासनले अमेरिकामा आप्रवासीहरूको बढ्दो सङ्ख्या रोक्ने कार्यमा भने कुनै बाधा नपुग्ने पनि अधिकारीहरुले बताएका छन् ।
परिवारहरूलाई सँगै बस्न दिने त हो तर पनि हामी हाम्रो सीमा बलियो बनाउन चाहन्छौँ–अमेरिकी राष्ट्रपतिले भनेका छन् ।

यसरी आगामी दिनमा पनि यस नीतिमा कडाई नगर्ने हो भने पनि वर्षेनी दशौँ लाख आप्रवासी अमेरिका आउनसक्ने र अमेरिका देश नै आप्रवासीले भरिने खतरा रहने राष्ट्रपति ट्रम्पले बताए । उनले भने- परिवारहरू सँगै बस्न त पाउने भए तर पनि आफ्नो देशको सीमा बलियो बनाउने र आफ्नो देशमा शान्ति सुरक्षा कायम गर्ने पनि हाम्रो अधिकार हो । (एएफपी)