चीनसँग व्यापार सम्झौता २०२० चुनावपछि : ट्रम्प

चीनसँग व्यापार सम्झौता २०२० चुनावपछि : ट्रम्प


वासिङटन – चीनसँग व्यापार सम्झौतामा पुग्नका लागि २०२० को चुनावपछि उत्तम हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
‘कुनै हदसम्म चीनसँगको सम्झौता चुनावपछि गर्ने विचार मलाई राम्रो लागेको छ । तर, उनीहरु अहिलेनै सम्झौता गर्न चाहन्छन् र सम्झौता सही हुन्छ वा हुदैन हेर्न बाँकिनै रहेको छ,’ ट्रम्पले बताए ।

‘मेरो कुनै समयसीमा छैन । केही हदसम्म चीनसँग सम्झौता गर्नका लागि चुनावपछिनै उत्तम हुने मलाई लागेको छ,’ अमेरिकी राष्ट्रपतिले थपे ।
अक्टोबरमा घोषणा गरिएको पहिलो चरणको सम्झौतामा अमेरिका र चीनले हस्ताक्षर गर्न बाँकिनै रहेको छ । चालु अवस्थाको व्यापार युद्धले दुवै मुलुकको अर्थतन्त्रलाई हानी पुगिरहेको छ । यो हानीलाई विस्तार हुन नदिनका लागि पहिलो चरणको सम्झौता गरिएको हो ।

विश्वकै दुई ठूला अर्थतन्त्रबीचको व्यापार विवाद १ वर्ष भन्दा बढी अवधिसम्म विस्तार भइसकेको छ । यसले जस्तालाई त्यस्तैको नीति र प्रतिबन्धहरुको सामना गर्नु परेको अवस्था छ । अमेरिका–चीनबीचको अन्तरिम सम्झौताले वासिङटनले १५६ अर्ब डलरका चिनियाँ सामग्रीमा लगाइएको भन्सार शुल्क हटाउने अपेक्षा गरिएको छ । यसमा सेलफोन, ल्यापटप कम्प्युटर र खेलौना पनि रहेका छन् ।

यद्यपि अमेरिकी राष्ट्रपतिले मंगलबार बेइजिङमाथि दबाब कायमै राख्ने बताएका छन् । ‘चीनसँगको सम्झौता एक चिजमा निर्भर रहेको छ–के म यो गर्न चाहन्छु । किनकी हाल हामीले चीनसँग राम्रो गरिरहेका छौ । हामी कलमको टुप्पोबाट अझै राम्रो गर्न सक्छौ,’ उनको भनाई थियो । ‘र चीनले यसको मूल्य चुकाइरहेको छ । चीनले ५७ वर्षको इतिहासमै खराब वर्ष को सामना गरिरहेको छ । त्यसैले के हुन्छ हेरौ,’ उनले बताए ।

वासिङटन र बेइजिङले अर्बौ डलरका एक अर्काको सामग्रीमा शुल्क वृद्धिको आदान–प्रदान गरिरहेका छन् । २०१८ मा ट्रम्प प्रशासने भन्दै आएको चीनको पक्षपातपूर्ण व्यापार अभ्यास त्याग्नका लागि चीनलाई बाध्य पार्न अन्य व्यापार प्रतिबन्ध पनि लगाएको थियो ।