के ट्रम्पलाई इरानले हत्या गर्न चाहेको थियो ?

के ट्रम्पलाई इरानले हत्या गर्न चाहेको थियो ?


काठमाण्डु-इरानले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या गर्ने षड्यन्त्र बनाएको सूचना पाएपछि केही सातादेखि उनको सुरक्षा बढाइएको छ ।

शनिवार पेन्सिल्भेनिआमा भएको हत्या प्रयास र कथित इरानी योजनाबीच अहिलेसम्म कुनै पनि सम्बन्ध नदेखिएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

तर उनको सुरक्षा बढाइएको खुलासाले २० वर्षीय सन्दिग्ध आक्रमणकारीले कसरी ट्रम्पको चुनावी सभा आयोजना गरिएको ठाउँ नजिकैको भवनको छतमा चढेर गोली प्रहार गरे भन्ने प्रश्न उठेको छ । टामस म्याथ्यू क्रूक्स नामक युवकले १३० मिटरको दूरीबाट प्रहार गरेको गोली ट्रम्पको कानलाई छुँदै गएको थियो ।

अमेरिकी गुप्तचर निकाय सीक्रेट सर्भिस र ट्रम्पको चुनावी प्रचार अभियानलाई इरानबाट हुने सम्भावित खतराबारे जानकारी गराइएको र सुरक्षा पनि बढाइएको अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूको दाबी छ ।

गुप्तचर स्रोतहरूले इरानी सुरक्षा खतरापछि गत जुन महिनाबाट सीक्रेट सर्भिसले ट्रम्पको सुरक्षा बढाएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजसँग बताएका छन् । थप गरिएको सुरक्षामा आक्रमण भएको अवस्थामा तत्काल प्रत्याक्रमण गर्ने टोली र निसानेबाजहरू, ड्रोन र यान्त्रिक कुकुरहरू रहेको छ । सीबीएसले जनाएअनुसार सम्भावित इरानी कारबाहीसँग सम्बन्धित सूचना सुराकीबाट थाहा भएको थियो ।

इरानको रेभलूशनरी गार्ड्सका कमान्डर कासिम सुलेमानीको हत्या गर्न निर्देशन दिएको प्रतिशोध लिन ट्रम्प र पूर्वअमेरिकी विदेशमन्त्री माइक पोम्पेओसहितका अधिकारीहरूले तेहरानबाट धम्की पाउँदै आएका छन् ।

सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन हमलामा सोलेमानीको ज्यान गएको थियो । घटनापछि संयुक्त राष्ट्रसङ्घका लागि इरानी दूतावासले उनको हत्याबारे तयार गरिएको प्रतिवेदन शङ्कास्पद भएको दाबी गर्दै ट्रम्पमाथि हत्याको अभियोगमा अदालतमा मुद्दा चलाउन माग गरेको थियो ।

ह्वाइटहाउस न्याश्नल सिक्युरटी काउन्सिलकी प्रवक्ता एड्रिएन वाट्सनले अमेरिकी सुरक्षा अधिकारीहरूले कैयौँ वर्षदेखि ट्रम्प प्रशासनका अधिकारीहरूमाथि इरानबाट हुने सम्भावित खतराको निगरानी भइरहेको बताइन् । ‘सुलेमानीको मृत्युको बदला लिने मनसायले इरानबाट यो खतरा देखिन्छ,’ उनले भनिन् ।

सन् २०२२ मा अमेरिकी कानुन मन्त्रालयले इरानको रेभलूशनरी गार्ड कोरका सदस्यहरूमाथि फौजदारी अभियोग लगाइएको घोषणा गरेको थियो । अमेरिकाले उक्त सङ्गठनमाथि संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत जोन बोल्टनको हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बन्दुकधारी कसरी ट्रम्पको त्यति धेरै नजिकसम्म पुगे भन्नेबारे स्वतन्त्र छानबिन गर्न निर्देशन दिएका छन् ।