वासिङ्टन – अमेरिकी हमलामा कमाण्डर कासिम सुलेमानी मारिएपछि दुवै देशकाबीच तनाव जारी छ । यसैबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुलेमानीले ४ अमेरिकी दूतावासलाई निशाना बनाइरहेको दाबी गरेका छन् ।
ट्रम्पले शुक्रबार भनेका छन्, ‘इरानी कमाण्डर सुलेमानीले ४ अमेरिकी दूतावासलाई हमलाको योजना बनाइरहेका थिए,’ ट्रम्पले एक अन्तर्वार्तामा दावी गर्दै कासिम सुलेमानीले अमेरिकी दूतावासको अतिरिक्त अन्य संगठनमा पनि ठूलो हमलाको योजना बनाइरहेको बताएका छन् ।
ट्रम्पले भने, ‘सुलेमानीले फेरी अमेरिकामाथि हमलाको षडयन्त्र रचिरहेका थिए । हामीले उसलाई मार्यौ र अमेरिकामाथि हुने हमला रोक्यौ । सुलेमानी धेरै पहिले मारिनु पर्दथ्यो ।’ गत साता सुलेमानी अमेरिकी एयर स्ट्राइकमा मारिएका थिए ।
इरानका मेजर जनरल रहेका कासिम सुलेमानीलाई मारिएपछि इरानले ८ जनवरीको आधा रातमा इराकमा रहेको अमेरिकी दुई सैन्य ठेगानामा मिसाइल हमला गरेको थियो । इराकमा इरानले १ दर्जन बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।
इरानको यो हमलापछि ट्रम्पले भने, ‘हाम्रो कोही पनि हताहती भएका छैनन् । हाम्रा सबै सैनिक सुरक्षित छन् र हाम्रो सैन्य अड्डामा पनि थोरै मात्रै नोक्सानी भएको छ ।’ यो हमलालाई इरानले अमेरिकाको मुखमा झापड हानेको बताएको थियो ।
इरानले इराकमा अमेरिकी ठेगानामा भएको आक्रमणमा कम्तीमा पनि ८० अमेरिकी सैनिक मारेको दावी गरेको थियो ।इरानको सरकारी टिभीका अनुसार यो हमला इरानको शक्तिशाली रिभोलुशनरी गार्डसका कमाण्डर जनरल कासिम सुलेमानीलाई शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएको बदला लिइएको हो ।
प्रतिक्रिया