‘टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन’ पाटन उच्च अदालतको आदेश

‘टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन’ पाटन उच्च अदालतको आदेश


काठमाण्डु – टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। काठमाण्डु महानगरपालिकाले हराएको टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरु भत्काउने तयारी गरेपछि उच्च अदालत पाटनले आइतबार उक्त आदेश गरेको हो ।

प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापाले शुक्रबार रिट दिएका थिए। रिटमाथि सुनुवाई गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाण्डु महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

काठमाडौं महानगरपालिकाले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो । अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्‍याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ,’ पाटन अदालतको आदेशमा भनिएको छ।