व्यानरमा लेनिनको फोटो नराखेको ओली ‘प्रचण्ड’ले स्वीकार्दे भने : गल्ती भयो दुईवटा ब्यानरमा कार्यक्रम हुन्छ

व्यानरमा लेनिनको फोटो नराखेको ओली ‘प्रचण्ड’ले स्वीकार्दे भने : गल्ती भयो दुईवटा ब्यानरमा कार्यक्रम हुन्छ


काठमाडौं – नेकपा (एमालेका) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा मनाएको कम्युनिष्ट पार्टीको स्थापना दिवसमा लेनिन र माओको फोटोविनाको ब्यानर बन्नुमा आफूहरुको गल्ती भएको  स्वीकार गरेका छन् । दुबै पार्टीका शीर्ष नेताहरुको बैठकमा ओली र प्रचण्डले उक्त गल्ती स्वीकार गरेका हुन् ।

आफूहरुले ब्यानर बनाउन निर्देशन दिँदाखेरि नै कस्तो बनाउने भनेर निर्देशन दिनुपर्नेमा सो नगरिएकाले यस्तो परिस्थिति आएको भन्दै ओली र प्रचण्ड दुबैले यसमा अरुको नभई दुई अध्यक्षकै कमजोरी रहन गएको बैठकमा बताएका छन् । एमालेका एक नेताले दिएको जानकारी अनुसार अब एमाले र माओवादी दुबै पार्टीका आआफ्नै ब्यानरहरु राखेर कार्यक्रम अघि बढाउने सहमति भएको छ ।

एमालेका तर्फबाट पुरानै बोर्ड राखिने भएको छ भने माओवादीका तर्फबाट राखिने अर्को ब्यानर तयार भइरहेको छ ।काठमाडौंको सभागृहमा १२ बजेदेखि गर्ने भनिएको संयुक्त कार्यक्रममा राखिएको बोर्डमा लेनिन र माओका फोटो नराखिएको भन्दै माओवादी कार्यकर्ताले नाराबाजी गरेपछि अढाइ बजेसम्म कार्यक्रम हुन सकेन । माओवादीको विरोधपछि कार्यक्रमस्थलबाट बोर्ड झिकिएको छ ।

सुरुमा बोर्ड फेर्न माग गरेका कार्यकर्ताहरुले छिटो कार्यक्रम गर्न भन्दै कार्यक्रमस्थलमा नाराबाजी र होहल्ला गरेका छन् भने दुबै पार्टीका नेताहरु ब्यानरको विवाद हल गर्न आन्तरिक छलफलमा जुटेका छन् । बेग्लाबेग्लै ब्यानर राखेर कार्यक्रम गर्ने सहमति भएकाले अब माओवादीको ब्यानर तयार हुनासाथ कार्यक्रम सुरु हुने एक नेताले बताए ।