वाम गठबन्धन सरकारको पक्षमा दुईतिहाइ समर्थन, राजपासहित १९४ सांसद

वाम गठबन्धन सरकारको पक्षमा दुईतिहाइ समर्थन, राजपासहित १९४ सांसद


काठमाडौं – प्रधानमन्त्री केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारको पक्षमा दुईतिहाइ समर्थन देखिएको छ । सरकारले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका वेला ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा १ सय ९४ सांसदको समर्थन देखिएको हो ।

दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ । तर, संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको अहिलेसम्मको निर्णयका आधारमा ओली सरकारको पक्षमा दुईतिहाइभन्दा १२ मत बढी देखिएको छ । राजनीतिक स्थिरतासँगै भ्रष्टाचार नियन्त्रण, सुशासन र समृद्धिका पक्षमा सरकारलाई अहिलेसम्म दुईतिहाइभन्दा बढी सांसदले समर्थन जनाइसकेको एमाले उपमहासचिव विष्णु पौडेलले बताए । ‘कांग्रेसबाहेकका दल सरकारलाई विश्वासको मत दिन सकारात्मक छन्’, पौडेलले नयाँ पत्रिकासँग भने, ‘केही दलले निर्णय नै गरेर समर्थन जनाइसकेका छन् ।’

प्रधानमन्त्री ओलीलाई अहिलेसम्म एमालेका १ सय २१, माओवादी केन्द्रका ५३ र राजपाका १७ सांसदको समर्थन रहने देखिन्छ । राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले राजपाले सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेको नयाँ पत्रिकालाई जानकारी दिए । ‘हामी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्छौं,’ यादवले भने । राजपाले यसअघि नै राष्ट्रपतिमा विद्या भण्डारीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

त्यस्तै, स्वतन्त्र सांसदको हैसियतमा रहेका राजेन्द्र लिङ्देन, राजमोकी दुर्गा पौडेल र हुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि सरकारका पक्षमा मतदान गर्ने तयारीमा छन् । राप्रपा प्रवक्ता भुवन पाठकले राष्ट्रियता र प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिको अपेक्षा गर्दै प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

संसद्को समीकरण

प्रधानमन्त्रीको पक्षमा

-एमाले १२१
-माओवादी केन्द्र ५३
-राजपा १७
-स्वतन्त्र :३ (राजमो १, राप्रपा १, छक्क लामा)
विपक्षमा

-कांग्रेस ६३
अनिर्णीत

-फोरम १६
-स्वतन्त्र : २ (नयाँ शक्ति १, नेमकिपा १)

यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौं।