काठमाण्डु-कतारमा जारी एएफसी यु–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार मंगोलियासँग खेल्दैछ । खेल दोहास्थित हमाद बिन खालिफा रंगशालामा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।
समूह एफमा मंगोलियाविरुद्ध खेल्दा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल र मंगोलिया दुवैले यसअघि खेलेका दुवै खेलमा हार व्यहोरेका थिए । त्यसैले दुवै टोलीका लागि यो प्रतिष्ठाको लडाइँ समेत हुनेछ ।
समूह एफमा नेपाल यसअघि साविक विजेता जापानसँग ९–२ तथा घरेलु टोली कतारसँग ५–० ले पराजित भएको थियो । उता मंगोलिया पहिलो खेलमा कतारसँग २–० ले तथा जापानसँग ७–० ले पराजित भएको थियो ।
यू–१७ एसियन कप छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका १७ वर्ष मुनिका युवा टोली सहभागी छन् । सहभागी ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ । छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यू–१७ एसियन कपका लागि छनोट हुनेछ ।
यस्तै उपविजेता १० टोलीमध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यू–१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वतः छनोट भइसकेको छ ।
प्रतिक्रिया