यूएईले दियो अवैध कामदारलाई वैध बन्न एक महिना समय थप

यूएईले दियो अवैध कामदारलाई वैध बन्न एक महिना समय थप


युएई – युएई सरकारले अबैधानिक रुपमा बसेर काम गरिरहेका कामदारलाई वैध बन्न दिएकोे आममाफी योजनाको अवधि पुनः एक महिना थप गरेको छ । अब यस्ता कामदारले जनवरी २ सम्म समय पाएका छन् । युएईको राष्ट्रिय दिवशका अवसरमा डिसेम्बर २ देखि लागू हुनेगरी आममाफी पुन एक महिना थप गरिएको युएईका संचार माध्यमले जनाएका छन् ।

सुरुमा दिइएको ३ महिनाको म्याद अक्टोबर ३० मा सकिएको थियो । त्यसपछि थपिएको एक महिनाको समय पनि मंसिर १ मा सकिएको थियो । सोमबार युएईको नागरिकता पहिचान सम्बन्धी संघीय प्राधिकरणले आममाफीका लागि म्याद थप गर्नेबारे विज्ञप्ति जारी गरेको छ।

गएको अगस्ट १ बाट सुरु भएको आममाफी प्रक्रिया डिसेम्बर १ मा सकिएको हो। आममाफीका लागि अगाडि नै प्रक्रिया सुरु गरेकाहरु पनि पुनः यसमा सहभागी हुन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। युएईको राष्ट्रिय दिवसको अवसरमा आममाफीको प्रक्रिया थपिएको हो।

आममाफीमा अवैधानिक रुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य देशका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी पूरा गरी आफ्नो देश फर्किने अवसर दिइनेछ। यो अवधिमा युएईमा रहेको नेपाली दूतावाससहित विभिन्न देशका दूतावास तथा कन्सुलेटहरुले घुम्ती सेवा दिनेछन् ।

युएई सरकारले अबैधानिक बसोबास गरिरहेका नेपालीसहित अन्य मुलुकका कामदारलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पुरा गरी मुलुक र्फकन आग्रह गरेको थियो । युएईमा अवैधानिक बसेका विदेशी नागरिकमध्ये बङ्लादेशी नागरिक सबैभन्दा धेरै छन् । भिजिट भिषामा आएर ओभर स्टे गरेका, घरेलु महिला कामदार, बिचमा काम खोजेर बस्नेहरु तथा राहदानी नभएर अवैधानिक भएका नेपाली आममाफी प्रकृयामा सहभागी भएका हुन् ।