उद्योगमन्त्री भन्छन्ः ट्रेड युनियनका नेताले सचिव तर्साउने दिन गए

उद्योगमन्त्री भन्छन्ः ट्रेड युनियनका नेताले सचिव तर्साउने दिन गए


हेटौंडा – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादबले ‘ट्रेड युनियनको नेता हुँ’ भन्दै सचिवलाई तर्साउनेहरुको दिन गएको बताएका छन् । हेटौडा सिमेन्ट उद्योगको ३३ औ वार्षिकोत्सवको कार्यक्रममा बुधबार उनले ट्रेड युनियनका अधिकांश नेतामा काम नगर्ने नेतागिरी मात्र गर्ने प्रवृत्ति रहेको भन्दै सुकिलो मुकिलो बनेर नेतागिरी गर्ने समय सकिएको दावी गरे ।

‘नेताले काम गर्दैन काम गर्ने नेता होइन त्यसैले सचिव तर्साएर होइन काम गरेर स्थापित हुनु पर्छ’ उनले भने । कर्मचारी संगठनका नेताहरु सचिव सरुवा गर्न हिँड्ने तर आफनो जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति देखिएको भन्दै औद्योगिक क्षेत्रमा यस्तो देखिन नहुने मन्त्री यादवले बताए ।

उनले निजी सिमेन्ट उद्योगहरुसँग प्रतिस्पर्धामात्र होइन, हेटौडा सिमेन्ट उनीहरु भन्दा अब्बल बन्नुपर्नेमा जोड दिए । उद्योगले केही वर्षदेखि मुनाफा कमाउन थालेकोमा खुशी व्यक्त गर्दै मन्त्री यादवले उद्योगको क्षमता विस्तार गरेर प्रतिस्पर्धा गर्न व्यवस्थापनलाई सुझाए ।