युइएफए नेसन्स लिग : स्पेन र पोर्चुगलको जित

युइएफए नेसन्स लिग : स्पेन र पोर्चुगलको जित


एजेन्सी– युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले डेनमार्कलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले डेनमार्कलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा खेलको ७९औं मिनेटमा मार्टिन जुबिमेन्डीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि युइएफए नेसन्स लिग ए को समुह चारमा स्पेनको ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै डेनमार्क ३ खेलमा ६ अंकसहित समुहमा दोस्रो स्थानमा रहेको छ ।

स्पेनले अब अर्को खेल अक्टोबर १६ मा सर्बियाको सामना गर्ने छ भने डेनमार्कले अर्को खेल सोहि दिन स्वीजरल्याण्डविरुद्ध खेल्ने तालिका छ ।

यस्तै लिगकै अर्को खेलमा पोर्चुगलले पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

पोर्चुगलको जितमा बेर्नार्डो सिल्भा र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए भने एक गोल पोल्याण्डका जान बेडनारेकले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै पोल्याण्डका लागि एक गोल पिओट जिएलिन्सकीले गरेका थिए । यो जितपछि पोर्चुगलले नेसन्स लिग ए को समुह एक मा ३ खेलमा तिनै जित हासिल गर्दै ९ अंक बनाएको छ र समुहमा शिर्ष स्थानमा छ । त्यस्तै पोल्याण्डले भने ३ खेलमा ३ अंक बनाएको छ र समुहमा तेस्रो स्थानमा छ ।

अब पोर्चुगलले अर्को खेल स्कटल्याण्डविरुद्ध अक्टोबर १६ मा खेल्ने तालिका छ भने पोल्याण्डले अक्टोबर १६ मै क्रोसियाको सामना गर्ने छ ।