काठमाण्डु-बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन् ।
तर आगामी वर्ष जनवरीमा हुने भनिएको बेलायतको आमनिर्वाचन अब घोषणाअनुरुप जुलाई ४ मै हुनेछ ।
बेलायतमा निर्वाचित भएको सरकारको आयु पाँच वर्षसम्म रहन्छ । सन् २०१९ को डिसेम्बरमा भएको अघिल्लो निर्वाचनमा कन्जर्भेटिभ पार्टी विजयी भएको थियो ।
कानुन अनुसार सन् २०२५ को जनवरीसम्म यो पार्टीले सरकार चलाउन मिल्ने सुविधा भए पनि प्रधानमन्त्री सुनकले आमनिर्वाचन २०२४ को जुलाई ४ का लागि घोषणा गरेका छन् ।
बेलायतमा कुल ६५० वटा संसदीय निर्वाचन क्षेत्र छन् । यस्ता प्रत्येक क्षेत्रका मतदाताले हाउस अफ कमन्समा आफ्नो प्रतिनिधित्व गर्न सांसदहरू चयन गर्छन् ।
निर्वाचनमा अधिकांश उम्मेदवारहरू राजनीतिक दलबाट हुने भए पनि केहीले स्वतन्त्र उम्मेदवारी पनि दिने गर्छन् ।
मत सर्वेक्षणहरूमा ऋषि सुनकको कन्जर्भेटिभ पार्टीको लोकप्रियता सन् २०२१ देखि नै खस्कँदो क्रममा छ । पछिल्ला मत सर्वेक्षणहरूमा सुनकको कन्जर्भेटिभ पार्टी उसको प्रमुख प्रतिस्पर्धी लेबर पार्टीभन्दा धेरै पछि देखिएको थियो ।
वास्तवमा पछिल्ला १२ महिनाहरूमा लेबर पार्टीले निरन्तर ४० प्रतिशतभन्दा धेरै सर्वेक्षणहरूको मत पाइरहेको छ ।
प्रधानमन्त्री सुनकले पनि मूल्यवृद्धि नियन्त्रण र नीति सम्बन्धी मञ्चहरूमा पार्टीले दिएको जोडले निर्वाचन प्रचार प्रसार बढ्दै जाँदा आफ्नो पार्टीका पक्षमा माहोल बन्ने अपेक्षा गरेका छन् ।
अहिलेकै स्थितिमा भने लेबर पार्टीले मत सर्वेक्षणहरूमा अगाडी रहेको अवस्थामा चुनावी प्रचार सुरु गर्दैछ ।
आप्रवासनको चर्को विरोध गर्ने दक्षिणपन्थी रिफर्म बेलायतमा तेस्रो स्थानमा छ । तर यो दलको समर्थन देशैभरि बराबर जस्तो फैलिएका कारण त्यसलाई संसद्को सिटमा बदल्न यो पार्टीलाई चुनौती छ ।
यसअघि तेस्रो स्थानमा रहेको लिबरल डेमोक्रेट्सले औसतमा १० प्रतिशत मत पाउने सर्वेक्षणहरूमा देखिन्छ । तर उनीहरूले निश्चित निर्वाचन क्षेत्रमा केन्द्रित भएर संसद्को निर्वाचनमा यो भन्दा धेरै उपलब्धि हासिल गर्ने अपेक्षा राखेका छन् ।
सुनकले यसअघि बेलायतमा शरण खोज्ने केही मानिसहरूलाई आमनिर्वाचनअघि नै रूआन्डा पठाइने बताएका थिए ।
उनले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा नीतिहरू बनाउने कामलाई मुख्य प्राथमिकता दिए । यसले मानिसहरू डुङ्गा चढेर इङ्गलिस च्यानल पार गर्ने अभ्यासलाई निरुत्साहन गर्ने उनको तर्क छ ।
तर अगाडी नै निर्वाचन घोषणा गरेपछि सुनकले आफू पुनः निर्वाचित भए पनि मात्रै यो काम अघि बढाउने बताएका छन् ।
सुनकको प्रतिस्पर्धी दल लेबरले आफ्नो दल सत्तामा पुगेको अवस्थामा यस्तो योजना नै खारेज गर्ने बताएको छ । जसले कसैलाई रूआन्डा पठाइने हो वा होइन भन्ने चासो जन्माएको छ ।
यो योजनाका लागि अहिले नै २४ करोड पाउन्ड खर्च भइसकेको छ । यो विषयको पक्ष र विपक्षको बहस अब केही हप्ता मात्रै बाँकी रहेको चुनावी प्रचार प्रसारका क्रममा दुवै पार्टीको चुनावी एजेन्डा बन्ने देखिन्छ ।
अहिले कन्जर्भेटिभ र लेबर पार्टीले सबैभन्दा धेरै सीट जित्ने ठानिएको छ । हाल ४४ वर्षका प्रधानमन्त्री ऋषि सुनकले कन्जर्भेटिभ पार्टीको नेतृत्व गरेका छन् ।
सन् २०२२ मा प्रधानमन्त्रीमा नियुक्त हुँदा सुनक ४२ वर्षका मात्रै थिए र उनले बेलायतको आधुनिक इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेको इतिहास बनाएका थिए ।
उनी बेलायतमा प्रधानमन्त्री हुने पहिलो भारतीय मूलका ब्रिटिश पनि हुन् । अहिलेसम्म १०० जना भन्दा धेरै सांसदहरूले आगामी निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया