काठमाण्डु-संयुक्त अधिराज्यका विभिन्न सहरहरूमा अहिले हिंसात्मक घटनाहरू भइरहेको छ ।
उत्तरपश्चिम इङ्ग्ल्यान्डमा तीन बालिकाहरूको ज्यान जाने गरी छुरा प्रहार भएको घटनापछि हिंसाले उग्र रूप लिएको छ ।
समुद्री किनारमा अवस्थित सानो नगर साउथपोर्ट शोकमग्न भएकै बेला चरम दक्षिणपन्थी समूहहरूले यस घटनालाई आफ्ना कट्टरपन्थी विचारहरू फैलाउन र गैरश्वेत मानिसहरूलाई डरधम्की दिन प्रयोग गरिरहेका छन् ।
मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने उद्देश्यका साथ उक्त नगरमा आयोजित शान्तिपूर्ण जमघटहरू बिस्तारै हिंसा र तोडफोडतर्फ उन्मुख हुन थालेका छन् । असन्तोष बढ्दै जाँदा दङ्गाकारीहरूले प्रहरीमाथि ढुङ्गाका साथै धुँवा उत्पन्न गर्ने बम र अन्य वस्तुहरू प्रहार गर्न थाले ।
हिंसात्मक गतिविधि हल, लिभरपुल, म्यान्चेस्टर, ब्ल्याकपुल र बेल्फास्टमा समेत फैलिएको छ ।
बेलायतभरि दङ्गा र हिंसात्मक घटनाहरू हुन थालेपछि नेपाललगायत भारत, नाइजिरिया र मलेशियाजस्ता देशहरूले त्यहा यात्रा गर्न लागेका र बेलायतमा रहेका आआफ्ना नागरिकका लागि सुरक्षा निर्देशनहरू जारी गरेका छन् ।
ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरले दङ्गाका घटनाहरूलाई चरम दक्षिणपन्थी अपराधीहरूको काम भएको भनेर टिप्प्णी गरेका छन् ।
बीबीसीका अनुसार साउथपोर्ट घटनाप्रति विरोधप्रदर्शन गर्न सडकमा भेला भएका वा सामाजिक सञ्जालमा धारणा व्यक्त गरेका सबै नै दक्षिणपन्थी विचारका, दङ्गाको समर्थन गर्ने वा चरम दक्षिणपन्थी समूहहरूसँग सम्बन्ध भएकाहरू मात्र छैनन् । दङ्गाका घटनाहरूमा त्यस्ता मानिसहरू पनि छन् जो हिंसात्मक अपराधप्रति चिन्तित छन् वा त्यस्ता मानिसहरू पनि छन् जो साउथपोर्टको घटनामा गैरकानुनी आप्रवासीहरूको संलग्नता छ भन्ने मिथ्या सूचनाको भ्रममा परेका छन् ।
साउथपोर्टमा छुरा प्रहारको घटनाबारे समाचार बाहिर आउनेबित्तिकै उक्त घटनामा संलग्न आक्रमणकारीको पहिचानबारे भ्रमपूर्ण जानकारी समाजिक सञ्जालमा डढेलो जसरी फैलिएको थियो ।
कम उमेरका कारण प्रहरीले ती १७ वर्षे किशोरको नाम उल्लेख नगरी उनीविरुद्ध मुद्दा दर्ता गरिएको जनाएको थियो। प्रहरीले सर्वसाधारणलाई यस विषयमा कुनै अनुमान नगर्न अनुरोध गरेको थियो ।
तर चरम दक्षिणपन्थी सोशल मिडिया इन्फ्लूएन्सरहरूले ती आक्रमणकारी यूकेमा शरणका लागि आवेदन दिएका एकजना मुस्लिम भएको र उनी डुङ्गा चढेर यूकेमा आएका थिए भन्ने हल्ला फैलाएका थिए ।
सामाजिक सञ्जाल ’एक्स’मा सक्रिय त्यस्ता एक इन्फ्लूएन्सरको सम्बन्ध चरम दक्षिणपन्थी समूह इङ्ग्लिश डिफेन्स लीग’का संस्थापकसँग देखिएको छ ।
समाजिक सञ्जालका मञ्चहरूमा मिथ्या दाबीको ओइरो नै लाग्न थाल्यो र धेरै मानिसहरूसम्म पुग्न थाल्यो । बीबीसीका अनुसार चरम दक्षिणपन्थी समूहहरू वा व्यक्तिहरूसँग कुनै सम्बन्ध नभएका सर्वसाधारण मानिसहरूसम्म पनि त्यस्ता झुटा विवरणहरू पुगेका छन् ।
‘यस्तो हल्ला फैलाउनमा केवल एउटा शक्ति वा तत्त्व जिम्मेवार छैन,’बीबीसीले आफनो रिपोर्टमा भनेको छ । बेलायतमा अनलाइन गतिविधिमा संलग्न मानिसहरूको ठूलो सङ्ख्या छ । तर उनी सोशल मिडिया इन्फ्लुएन्सरहरूबाट निर्देशित हुन्छन् ।
केही विरोध प्रदर्शनकारीहरूले दङ्गाको घटनाको बेला मुख्य बजारका पसलहरूमा लुटपाट गर्ने जस्ता आपराधिक गतिविधि पनि गर्ने गरेका छन् ।
उत्तरपूर्वी इङ्ग्ल्यान्डको एउटा सहर सन्डरलन्डमा ग्रेग्स बेकरीको एउटा पसल र न्याटवेस्ट ब्याङ्कको एउटा शाखामा प्रवेश गरेर तोडफोड भएको थियो ।
विज्ञहरूले सामाजिक र आर्थिक अस्थिरताले खास गरी युवाहरूलाई चरम दक्षिणपन्थी विचारधारातर्फ आकर्षित तुल्याउन सक्ने चेतावनी दिएका छन् । कोभिडले पारेको दीर्घकालीन प्रभावले पनि अवस्थालाई झन् जटिल तुल्याएको हुन सक्छ ।
प्रतिक्रिया