सरकारले उखुको समर्थन मूल्य तय नगर्दा किसान र उद्योगी अन्योलमा

सरकारले उखुको समर्थन मूल्य तय नगर्दा किसान र उद्योगी अन्योलमा


काठमाण्डु–मङ्सिर आधा सकिनै लाग्दासमेत सरकारले यो यामका लागि उखुको समर्थन मूल्य तय नगर्दा किसान र उद्योगी दुवै अन्योलमा परेका छन् । उखु काटेर बेच्न लैजान समय घर्किंदै जाँदा सरकारले समर्थन मूल्य तय नगरेको भन्दै तत्काल समर्थन मूल्य तय किसानले माग गरेका छन् ।

“समय घर्किएपछि उखुको समर्थन मूल्य तोकेर समस्या समाधान हुदैन”, उखु किसान रवि पाण्डेले भने “सरकारले किसानको लगानी बुझेर समर्थन मूल्य यथाशीघ्र तोकी किसानलाई उखु बिक्रीको सहज वातावरण बनाउनुपर्छ ।”

राज्यले उखुको समर्थन मूल्य समयमा नतोक्दा शून्य मूल्यमा उखु बेच्नु परेको किसानले गुनासो गरेका छन् । अर्को याममा काट्ने उखुको समर्थन मूल्य यस वर्ष नै तय हुनुपर्नेमा उनले जोड दिए ।पहिलानै समर्थन मूल्य तय गर्ने व्यवस्था भए किसानलाई फाइदा हुने बताउँदै यसो भएमा उखु लगाउने वा नलगाउने किसानले पहिला नै निर्णय लिन सक्ने पाण्डेको भनाइ छ ।

अहिलेको व्यवस्थाअनुसार किसानलाई अन्योलमा राखेर सरकारले अन्याय गरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । सरकारले यथाशीघ्र उखुको समर्थन मूल्य तोकी किसानलाई सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।

यसैबीच, उखु उद्योगले भने तत्काललाई गत वर्ष सरकारले तोकेको समर्थन मूल्य भुक्तानी गरेर उखु खरिद गर्ने तयारी गरेका छ । पछि सरकारले तय गरेको समर्थन मूल्य दिने गरी अहिलेलाई गत यामको ५६५ दिएर उखु खरिदको व्यवस्था मिलाइएको महालक्ष्मी चिनी उद्योग बगदहले जनाएको छ । किसान भने पछि सरकारले थपेको बाँकी रकम नपाउने चिन्तामा छन् ।

यसअघि पनि यसरी उखु खरिद गरेको रकम नपाएको गोडैता–३ का उखु किसान मुनिम ठाकुरले गुनासो गरे । यही अवस्था रहिरहे उखु खेती गर्ने वातावरण नभएको भन्दै सरकारले किसानलाई खेती गर्ने सहज वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

रौतहट, बारा, महोत्तरी, सिराहासम्मका उद्योगले यहाँ उत्पादित उखु लैजान सुरु गरिसकेका छन् ।