एक साहासिक बालक जसले आक्रमणमा परेका बसबाट अरूलाई जोगाए

एक साहासिक बालक जसले आक्रमणमा परेका बसबाट अरूलाई जोगाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- युक्रेनको सूमी सहरमा आइतबार दुईवटा रुसी क्षेप्यास्त्र बज्रिँदा १३ वर्षीय किरिलो इल्याशेन्को आफ्नी आमासँग बसमा यात्रा गर्दै थिए ।

उनलाई सिट्ठी बजाए जसरी कुनै वस्तु खस्न थाले जस्तो महसुस भयो । अनि उनले मानिसहरू चिच्याएको र बसको सिसा फुटेको आवाज सुने ।

त्रसित किरिलोले साहस गरेर बसको झ्यालबाट निस्किए । बसको ढोका खोले र बसभित्र फसेका अन्य यात्रीको उद्दार गरे ।

युक्रेनी अधिकारीहरूका अनुसार ती बसमा यात्रा गरिरहेकाहरू इसाई धर्मावलम्बीहरूको चाड ‘पाम सन्डे’ मनाउन गइरहेका थिए । जसमाथि रुसले दुइटा हमला गरेका थिए । रुसी हमलामा ३५ जनाको मृत्यु भयो ।

किरिलोको प्रयासका बावजुद पनि उक्त बसका चालकसहित कैयौँ मानिसको ज्यान जोगिन नसकेको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।

किरिलो आफैँ पनि घाइते छन् । उनलाई अस्पताल लगिएपछि डाक्टरहरूले उनको टाउकोबाट एउटा छर्रा निकालेका छन् ।

युक्रेनको उत्तरपूर्वी सहरमा आइतवार भएको आक्रमण रुसले सन् २०२२ मा आक्रमण सुरु गरेयताकै सबैभन्दा घातक थियो ।

उक्त बसमा कलाकार, वकिल, चिकित्सा शास्त्रका विद्यार्थी, संगीतकार र विद्यालयका शिक्षक सवार थिए । मृतकमध्ये एक सुमी नेशनल थिअटरकी आर्किस्ट्रा सदस्य तथा एकल अर्गान वाद्यवादक ओलेना कोहुत पनि छिन् ।

आक्रमणको मारमा सूमी स्टेट यूनिभर्सिटी र त्यसको सभाहल परेको छ । उक्त स्थान बैठक, बालबालिका र युवाहरूका लागि कक्षा सञ्चालन गर्न र सांस्कृतिक तथा व्यापारिक कार्यक्रमहरू गर्न प्रयोग हुने गरेको थियो ।

आक्रमणअघि बालबालिकाहरूलाई दन्त्यकथामा आधारित नाटक देखाउन मञ्च तयार गरिएको थियो ।

रुसबाट नजिकै रहेको सुमीमा भएको आक्रमणको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भइरहेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्ण रूपमा विचलित र फोहोरीले मात्रै यस्तो गर्न सक्ने टिप्पणी गरेका छन् ।

तर, रुसी रक्षा मन्त्रालयले सर्वसाधारणप्रति लक्षित आक्रमण गरेको आरोप अस्वीकार गरेको छ । रुसले युक्रेनी सैन्य अधिकारीहरूको बैठक भइरहेका स्थानमा क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको छ ।