काठमाण्डु- सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने भएको छ । ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ ।
भूतप उल्का वर्षा पुष १३ देखि २८ गतेसम्म सक्रिय रहने भए पनि आज राति अत्यधिक वर्षा हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।
उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिने छ ।
नासोका अनुसार उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक चाहिँदैन । अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेर्न सकिन्छ ।
अत्यधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटासम्म उल्का वर्षा हुने अनुमान गरिएको छ । ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किमिमाथि वायुमण्डलमा देखिने छन् ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्ने गर्छन् । यसैलाई उल्का वर्षा भनिन्छ ।
प्रतिक्रिया