एमाले सुदूरपश्चिम अधिवेशनमा भोलि बिहान मतदान हुने

एमाले सुदूरपश्चिम अधिवेशनमा भोलि बिहान मतदान हुने


काठमाण्डु – नेकपा एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशन अन्तर्गत मतदान कार्य भोलि बुधबार बिहान हुने भएको छ ।

निर्वाचन समितिका प्रमुख पदम पालले मंगलबार साँझसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बुधबार बिहान ७ बजेबाट मतदान हुने बताए ।

‘उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भइसकेको छ । अहिले उम्मेदवारी फिर्ताको काम भइरहेको छ,’ उनले भने, ‘उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगायतका सबै काम आज सक्छौं । भोलि बिहान ७ बजेबाट निर्वाचन हुनेछ ।’

एमाले सुदूरपश्चिमको अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिको प्रारम्भिक विवरणअनुसार कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउँदले अध्यक्षमा उमेदवारी दिएका छन् ।

सहमतिबाट नेतृत्व चयन प्रक्रिया नटुंगिएपछि निर्वाचन हुने भएको हो ।