संकल्प यात्रा भाँड्ने प्रयत्न नगर्न एमाले कोशी प्रदेशको चेतावनी

संकल्प यात्रा भाँड्ने प्रयत्न नगर्न एमाले कोशी प्रदेशको चेतावनी


विराटनगर – नेकपा एमाले कोशी प्रदेशले पार्टीको जारी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा भाँड्ने प्रयत्न नगर्न चेतावनी दिएको छ ।

शनिबार पार्टीले विराटनगरमा पत्रकार सम्मेलन गरी पार्टीको पूर्व निर्धारित कार्यक्रममा कुनै पनि अवरोध नगर्न सचेत गराएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका कोशी प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीले वितरण गरेको विज्ञप्तिमा पहिचानका नाममा एमालेको कार्यक्रमलाई अवरोध गर्ने प्रयत्न नगर्न चेतावनी दिइएको छ ।

‘आज पहिचानका नाममा जुन बन्द, हड्ताल र अवरोध गर्ने खालको प्रयत्न भइरहेको छ, त्यसले मुलुक, जनता र हामी कसैको भलो गर्दैन, यस्ता गतिविधिहरू तत्काल फिर्ता गरी संवाद र छलफलको विधिद्वारा समस्याको समाधानको बाटो खोज्न अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

एमालेले कानूनी राज्य, विधिको शासन र संवैधानिक अधिकारको प्रत्याभूति सबैमा संविधानले सुनिश्चितता गरेको स्मरण गराएको छ । कानूनी राज्यमा शान्तिपूर्ण रूपमा विरोध र समर्थन गर्ने अधिकार सबैमा रहेकोप्रति नेकपा एमाले पूर्ण रूपमा सचेत रहेको विज्ञप्तिमा उल्लेख छ । ‘तर संविधानप्रदत्त अधिकारको उल्लंघन गर्ने र परिस्थितिलाई उत्तेजित बनाउने गतिविधि र क्रियाकलाप नेकपा एमालेलाई किमार्थ स्वीकार्य नहुने जानकारी गराउँदछौं,’ विज्ञप्तिमा लेखिएको छ ।

समृद्धिका लागि संकल्प यात्राको महाअभियान नेकपा एमालेको पूर्व निर्धारित कार्यक्रम भएको पार्टीले स्पष्ट पारेको छ । ‘जसले पहाडलाई विकास र समृद्धिको नमूना कसरी बनाउन सकिन्छ ? यस अभियानमार्फत हामी जवाफ खोज्ने कोसिस गरिरहेका छौं, पहाडको समृद्धिका लागि संकल्प यात्राको नाममा यो अघि बढेको छ, यो अभियान नेकपा एमालेको मात्र नभई समग्र नेपाली जनताको कार्यक्रम र अभियान भएको हुँदा यस अभियानमा सबै पक्षको सल्लाह, सुझाव र सहभागिता लागि हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा आह्वान गरिएको छ ।

जटिल भौगोलिक संरचना, छरिएका बस्तीहरू, प्राकृतिक विपत्तिको उच्च जोखिम, वन्यजन्तुहरूका कारण कृषि उत्पादनमा ह्रास तथा जलवायु संकट पहाडको विकासका मुख्य चुनौती रहँदै आएको सन्दर्भमा यिनै चुनौती र सम्भावनालाई ध्यानमा राखेर नेकपा एमालेले पहाडी क्षेत्रको विकासका लागि रणनीतिक महत्त्वका पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र खानेपानी संरचना एवं विद्युतीय लगायत महत्त्वपूर्ण योजना अगाडि बढाउँदै आएको पार्टीले स्पष्ट पारेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग र यसमा निर्माणाधीन १० वटा शहरहरू यसका दृष्टान्त भएको पनि विज्ञप्तिमार्फत स्मरण गराइएको छ ।

तथापि तीव्र बसाइसराइ आज पहाडको मुख्य समस्या बन्न थालेको विज्ञप्तिमा उल्लेख छ । ‘एकातिर विकासका योजनाहरू पहाड चढ्दै जाने, अर्कातिर पहाडबाट जनसंख्याको ठूलो हिस्सा तराई, शहर हुँदै विदेशिँदै जाने चुनौती आजको हाम्रो अर्थ राजनीतिको सर्वाधिक जटिल प्रश्न हो, समस्या कहाँ छन् ? किन पूर्वाधार र उत्पादनको विषय जोडिन सकेको छैन ? हाम्रो विकास र पूर्वाधार निर्माणको ढाँचामा नै कुनै समस्या छन् कि ? छन् भने समाधान कसरी गर्न सकिन्छ ? र पहाडलाई विकास र समृद्धिको नमुना कसरी बनाउन सकिन्छ ? यस अभियानमार्फत हामी जवाफ खोज्ने कोसिस गर्नेछौं,’ अभियानको उद्देश्यबारे प्रकाश पार्दै विज्ञप्तिमा लेखिएको छ ।

यतिबेला समाजमा निराशा फैलाउने, नकारात्मक मनोविज्ञान निर्माण गर्ने र नेपाल समृद्ध बन्दैन, बन्नै सक्दैन भन्ने भ्रम निर्माण गर्ने प्रयास निकै व्यापक रूपमा भइरहेकोप्रति एमालेले चिन्ता व्यक्त गरेको छ । ‘केही पात्रहरू यस निराशालाई लोकतान्त्रिक गणतन्त्रकै विरुद्धमा प्रयोग गर्ने प्रयास गरिरहेका छन् भने केही चाहिँ यसलाई पुराना पार्टीहरूको असफलता भन्ने भाष्य निर्माण गर्दै आफूसँग सबै समस्याको समाधान रहेको भ्रम छर्न खोजिरहेका छन्, लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र हाम्रा यावत् उपलब्धिलाई अवमूल्यन गर्दै समाजमा निर्माण गर्न खोजिएको नकारात्मक मनोविज्ञान र नैराश्यको अवस्थालाई अन्त्य गरेर मुलुक बन्छ, बन्दैछ भन्ने दह्रो आत्मविश्वास निर्माण गर्नु, प्राप्त उपलब्धिहरूको रक्षा एवं संवर्द्धन गर्नु तथा समाजमा आशा र सकारात्मक मनोविज्ञान निर्माण गर्नु अभियानको उद्देश्य हुने छ,’ विज्ञप्तिमा लेखिएको छ ।

नेकपा एमालेको संकल्प यात्रा जनतालाई सुन्ने र जनताबाट सिक्ने महत्त्वपूर्ण अभियान भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । तसर्थ अभियानमा सहयोग गर्न एमालेले सबैलाई अनुरोध गरेको छ ।

मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको अभियान मंसिर २६ गते घुर्मीबाट कोशी प्रदेश प्रवेश गर्दैछ । अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिका लागि संकल्प यात्रामा छन् ।