एमालेले एसईईको मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने

एमालेले एसईईको मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसईईको मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने बताएका छन् ।

बिहीबार अनेरास्ववियु रुपन्देहीले बुटवलमा आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभरका विद्यार्थीलाई निःशुल्क अनलाइन क्लास लिने व्यवस्था मिलाउने घोषणा गरे ।

‘उहाँहरूलाई उत्तीर्ण गराउनका लागि अंग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञान र सामाजिक विषयका कक्षाहरू अनलाइनमार्फत सबै विद्यार्थीलाई उपलब्ध गराइनेछ, निःशुल्क अनलाइन क्लास देशभर नै, ताकि काठमाण्डुबाट गुणस्तरीय शिक्षकहरूले अनलाइनमार्फत उहाँहरूलाई शिक्षा दिनुहुनेछ, त्यसका लागि केपी ओली फेसबूक पेजमा कन्ट्याक गर्नुहोला, सबैले अनलाइन क्लासमा जोडिएर अनलाइन क्लासको लाभ लिन सक्नुहुनेछ ।’

उनले धेरै ज्ञान र क्षमता भएका शिक्षकहरूले अनलाइन कक्षा लिने जानकारी दिए । उनले विद्यार्थीलाई आत्मविश्वासका साथ अध्ययन गर्न आग्रह गरे ।

उनले फेसबूक पेजमा कुनै कन्फ्युजन भयो भने ९८४१८९७६१३ नम्बरको मोबाइल नम्बरमा सम्पर्क गर्न विद्यार्थीलाई आग्रह गरे । त्यो नम्बरले विद्यार्थीलाई समस्या परे मद्दत गर्ने उनले स्पष्ट पारे । बढीभन्दा बढी विद्यार्थी उत्तीर्ण होऊन् र उनीहरूको भविष्य उज्ज्वल होस् भनेर आफूले यो काम गर्न लागेको उनले बताए ।

उनले शिक्षकहरूलाई समय अनुसारको सीप र ज्ञान दिन नसक्दा विद्यार्थीलाई सिकाउने कुरामा कमी भएकाले यस वर्षको एसईई परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बताए । शिक्षकले गुणस्तरीय तालिम नपाउँदा ज्ञान ट्रान्सफर गर्न नसकेको कारण अहिलेको अवस्था आएको ओलीको भनाई छ । विद्यार्थीहरू कमजोर भएका कारण अनुत्तीर्ण नभएका उनले बताए ।

घमण्ड मस्तिष्कमा पसेपछि दिमागमा ज्ञान पस्न नसक्ने बताउँदै उनले परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई दिमागको कुनै पनि कुनामा घमण्ड नराख्न आग्रह गरे । निरन्तर ज्ञान प्राप्त गर्ने कोसिसमा लाग्न उनले विद्यार्थीलाई सुझाव दिए । नियमित अध्ययन नगर्ने हो भने कुनै पनि डिग्रीले काम नगर्ने उनले प्रष्ट पारे ।

सफलता प्राप्तिका लागि इमान्दार प्रयास गर्नुपर्ने उनले बताए । विना प्रयास र इमान्दारिता विना कुनै पनि कुरामा सफलता प्राप्त नहुने उनले बताए । ‘इमान्दारिता सफलताको पुँजी हो, इमान्दारिताले सफलतालाई चुम्छ,’ उनले भने ।