काठमाण्डु-सत्तारुढ दल एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय नेताहरूको कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको छ ।
एमालेले पार्टी कार्यालयमा बैठक बोलाएपनि मंगलबार राति बाढी पसेपछि आज हनुमानस्थानस्थित होटल बसेरामा बैठक बस्नेछ । बाढी पसेपछि बुधबार दिउँसोदेखि कार्यालय सरसफाइ र मर्मतको काम जारी रहेको छ ।
एमालेले केन्द्रीय नेतालाई आफ्नै भूगोलको जिम्मेवारी दिन लागेको छ । यस अगाडि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । अन्तर प्रदेश र अन्तर क्षेत्रका फरक फरक भूगोलमा कार्यक्षेत्र रहने गरी खटाएको एक वर्ष पूरा भएकाले आफ्नै कार्यक्षेत्रको जिम्मेवारी दिने निर्णय भएको थियो ।
नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ । बैठकबाट एमालेले विभिन्न ईञ्चार्ज र विभागको नेतृत्व समेत परिवर्तन गर्नेछ ।
प्रतिक्रिया