काठमाण्डु – नेकपा एमालेले ‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेको छ ।
पार्टी मुख्यालय च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले समाजमा वैरभाव र निराशा फैलाउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुन समेत पार्टीपंक्तिलाई आह्वान गरेको छ ।
बैठकबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले समाजमा निराशा, हतास र नकारात्मक मनस्थिति, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेकाले त्यसविरुद्ध एकताबद्ध भएर उभिने निर्णय गरिएको बताए । ‘देश बनिरहेको छ भन्ने सकारात्मक सन्देश, देश बन्छ भन्ने आत्मविश्वासका साथै लोकतन्त्रान्त्रिक गणतन्त्रन्त्रात्मक संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टीपंक्तिलाई आह्वान गरेका छौं,’ उनले भने ।
उपमहासचिव ज्ञवालीले सरकारले आफ्नो सामथ्र्यले भ्याएसम्म हालैको विपद् र त्यसबाट उत्पन्न परिस्थितिको सामना गरेको र यसका कार्यमा सबैको थप सहयोग र सहकार्यको अपेक्षा गरिएको बताए । उनले भने, ‘यतिबेलै अमेरिकाको फ्लोरिडा सामुन्द्रिक आँधीबाट आक्रान्त छ, साधनस्रोत सम्पन्न देश भएर पनि त्यहाँ विपद् व्यवस्थापनमा कमजोरी रहेको सुनिन्छ । त्यसैले हाम्रो सन्दर्भमा पनि वस्तुनिष्ठ ढंगले हेरिनुपर्छ । सरकारले इमान्दारपूर्वक काम गर्यो वा गरेन, सरकारका निकाय परिचालित भए वा भएनन् भन्ने मुख्य कुरा हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, कर्मचारी, दलका कार्यकर्ता आफ्नो सामथ्र्यले भ्याएसम्म खटेकै छौं ।’
बैठकले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना, राहत सहयोग र खोजी कार्यमा सम्पूर्ण जनसंगठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा लाग्न निर्देशन दिएको छ । आगामी मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारसहित कात्तिक २२ गतेसम्म तल्ला कमिटीहरूले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न पार्टीले निर्देशन दिने निर्णय समेत गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
प्रतिक्रिया