एमालेको जागरणसभा विभाजनकारी शक्तिविरुद्ध हो : अध्यक्ष ढुङ्गेल

एमालेको जागरणसभा विभाजनकारी शक्तिविरुद्ध हो : अध्यक्ष ढुङ्गेल


काठमाण्डु – नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले भोलि शुक्रबार काठमाण्डुमा गर्न लागिएको जागरणसभा विभाजनकारी शक्तिविरुद्ध भएको बताएका छन् ।

नेकपा एमाले काठमाण्डु, ललितपुर र भक्तपुरले संयुक्त रूपमा शुक्रबार काठमाण्डुमा आयोजना गर्न लागेको कार्यक्रम बिखण्डनकारी शक्तिविरुद्ध उपत्यकाको जनप्रदर्शन भएको ढुङ्गेलले बताए ।

अराजकतावादीहरूविरुद्ध नेकपा एमालेले आफ्नो असली रूप भोलिको कार्यक्रममा देखाउने उनले स्पष्ट पारे । नेकपा एमाले कमजोर भयो, पुराना पार्टीहरू सकिए भन्नेहरूले भोलिको कार्यक्रममा एमालेको शक्ति देख्ने उनले दाबी गरे ।

ढुङ्गेलले अहिले समाजको हरेक क्षेत्रमा विभाजनकारी अराजक शक्तिले टाउको उठाउने प्रयास गरेका बताए । ‘अराजकतावादीहरूले संस्कृतिमा विभाजन, पार्टीमा विभाजन, समाजमा विभाजन र व्यवस्थामा विभाजन गरेर भाँडभैलो गर्ने काम भएको छ, यसलाई हामी भोलिको कार्यक्रमबाट चिर्छाैं,’ उनले भने ।

भोलिको कार्यक्रममा नेकपा एमाले, वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गरिएका कुप्रचारको भ्रम चिरिने पनि उनले बताए । जनतालाई सही सूचना दिनु राजनीतिक दलको कर्तव्य भएकाले भोलिको कार्यक्रममार्फत जनतालाई सूचना प्रवाह गरिने ढुङ्गेलले प्रष्ट पारेका छन् ।