भोलि एमालेको जागरण सभामा १ लाख नागरिक आउँदैछन् : अध्यक्ष निरौला

भोलि एमालेको जागरण सभामा १ लाख नागरिक आउँदैछन् : अध्यक्ष निरौला


काठमाण्डु – नेकपा एमाले काठमाण्डुका अध्यक्ष दीपक निरौलाले भोलि काठमाण्डुमा हुने नेकपा एमालेको जागरण सभामा १ लाख नागरिक उत्रिने बताएका छन् ।

नेकपा एमाले काठमाण्डु, भक्तपुर र ललितपुरले शुक्रबार काठमाण्डुमा आयोजना गर्ने जागरण सभाको अन्य तयारी पूरा भएको र आज रातभरमा मञ्च तयार गरिने निरौलाले बताए ।

‘समाजमा फैलिएको नकारात्मक दृष्टिकोणलाई सकारात्मक दिशातर्फ लैजाने, राष्ट्रिय सद्भाव कायम गर्ने र समाजलाई सही दिशातर्फ लैजानको लागि हामीले यो कार्यक्रम आयोजना गरिएको हो,’ निरौलाले भने ।

कार्यक्रमको लागि अन्य सबै तयारी पूरा भएका बताउँदै निरौलाले भोलि बिहान ११ बजे भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुग्ने जानकारी दिए । ‘सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्नुहुनेछ, हामीले १ लाख मान्छेको उपस्थितिमा कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ।

नेपाली समाजमा फैलाइएको सामाजिक अराजकतालाई चिर्न कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे । ‘समाजमा विद्वेष फैलाउने प्रयत्न भएको छ, गलत प्रवृत्ति विकास गर्ने प्रयत्न भइरहेका छन्, त्यसका विरुद्धको यो अभियान हो,’ निरौलाले भने ।

राजनीतिक पार्टीहरू सरकारमा हुँदा होस् वा नहुँदा सधैं जनताको बीचमा हुने भएकाले सरकारमा रहेको बेला किन कार्यक्रम गर्न लागेको भन्ने प्रश्न नै नउठ्ने निरौलाले बताए । ‘जनताको बीचमा जाने भनेको सडकमा नै जाने हो, जनतालाई पार्टीका विचार र धारणा सम्प्रेषण गर्ने सडकबाट नै हो, त्यसैले हामीले भोलि सडक कार्यक्रम राखेका हौं,’ उनले भने ।

निरौलाले एमालेमाथि फैलाइएको भ्रम, सरकार र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लगाइएका निराधार आरोप र लाञ्छना भोलिको कार्यक्रमले चिर्ने बताए । एमाले र एमाले नेतृत्वको सरकारले गरेका काम र आगामी योजनाबारे पनि भोलिको सभामा प्रष्ट पारिने निरौलाले जानकारी दिए । त्यसैले कार्यक्रममा सहभागी भई एमालेको धारणा सुन्न र भ्रमबाट मुक्त हुन उनले उपत्यकावासीलाई आह्वान गरेका छन् ।