एमालेमा केन्द्रीय सदस्यको राय : कुनै पनि गुटबन्दीहरू पार्टीले सहन हुँदैन

एमालेमा केन्द्रीय सदस्यको राय : कुनै पनि गुटबन्दीहरू पार्टीले सहन हुँदैन


काठमाण्डु – नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्यहरूले गुटबन्दी अन्त्य गर्नुपर्ने राय पेश गरेका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा सदस्यहरूले गुटबन्दीलाई पार्टीले सहन नहुने राय राखेका छन् ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीभित्रका कुनै पनि गुटबन्दीहरू पार्टीले सहन नहुने र त्यस्ता आशयका गतिविधिहरू भएको खण्डमा पार्टीले निगरानीमा राख्नुपर्नेमा केन्द्रीय सदस्यहरूले जोड दिएका जानकारी दिए ।

उनका अनुसार अधिकांश केन्द्रीय सदस्यहरूले सरकारको प्रभावकारिता र पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिएका छन् । बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि ९८ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।

पार्टीलाई सबलीकरण गर्न तथा पार्टी र जनताको सम्बन्धलाई सुदृढ बनाउनका लागि वडा केन्द्रित संगठन अभियान सञ्चालन गर्न प्रस्तुत भएको कार्ययोजनालाई कार्यान्वयनका लागि केही समस्याहरू देखिएकोमा नेताहरूको जोड रहेको उनले बताए ।