काठमाण्डु – नेकपा एमालेले राजावादीका नाममा काठमाण्डुमा गरिएको हिंसात्मक घटनाको निन्दा गरेको छ ।
आईतबार सम्पन्न पार्टी केन्द्रीय सचिवालयको ४७औं बैठकले काठमाण्डुका तीनकुने क्षेत्रमा भएको घटनालाई गम्भीर रूपमा लिएको छ ।
‘बैठकले राजावादीका नाममा काठमाण्डुको तीनकुने, कोटेश्वर र जडीबुटी लगायतका क्षेत्रमा आपराधिक समूहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै त्यसको निन्दा तथा भत्र्सना गरेको छ,’ बैठकपछि पार्टी महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शान्तिपूर्ण प्रदर्शनका नाममा सवारीसाधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतंक सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने जस्ता अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
नेकपा एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प बैठकले गरेको छ । सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासविरुद्ध गोलबन्द हुन पनि आह्वान गरेको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको अवरोधका कारण प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेकोप्रति बैठकको ध्यानाकर्षण भएको एमालेले जनाएको छ । संविधान र कानूनको व्यवस्था अनुरूपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरूलाई बैठकले अनुरोध गरेको छ । सरकारी विधेयकलाई संविधान र कानूनको व्यवस्थाअनुरूप सम्पादन गर्ने कर्तव्यतर्फ राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभा सभामुखको ध्यानाकर्षण समेत बैठकले गराएको छ ।
बैठकले आगामी वैशाख ९ गते पार्टी स्थापना दिवसलाई यूथ समिटका रूपमा मनाउने निर्णय गरेको छ । समिटमा ४० वर्षमुनिका ६ हजार युवाहरूको सहभागिता रहने महासचिवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया