एमालेले अर्थसहित ९ र कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति

एमालेले अर्थसहित ९ र कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति


काठमाण्डु – प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच सोमबार मध्यरातमा नयां समिकरण बनाउने सहमति भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबिच पालैपालो सरकारको नेतृत्व गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

जसअनुसार सुरुको डेढ वर्ष एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने भएका छन् । दुई दलबीच भएको सहमतिअनुसार एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ ।

दुवै दलबीच प्रदेश सरकारमा समेत भागवण्डा गर्ने सहमति भएको छ । नयां सहमति अनुसार अब एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ ।

मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ । नयां गठबन्धनमा अशोक राई नेतृत्वको जसपा र सिके रावत नेतृत्वको जनमत समेत सहभागी हुने भएकाले दुवै मध्ये एउटाले मधेश सरकारको नेतृत्व पाउने सम्भावना छ ।

दुवै दलबीच संविधान संशोधन सुझाव समिति बनाउने, निर्वाचन प्रणाली परिवर्तन गर्नेलगायतको सम्झौंता भएको छ ।

सहमतिमा नेपाली कांग्रेसका सभापति देउवा र नेकपा एमालेका अध्यक्ष ओलीले सोमबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरिसकेका छन् । हस्ताक्षरपछि उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत नयां सरकार गठनका विषयमा छलफल गरिसकेका छन् । राष्ट्रपतिसंगको छलफलपछि उनिहरुले संविधानको धारा ७६ को उपधारा दुईअनुसार सरकार गठन गर्ने गरी रणनीति बनाएका छन् ।

सहमतिका लागि कांग्रेसबाट रमेश लेखक,आरजु राणा र ज्ञानेन्द्रबहादुर कार्की खटिएका थिए भने एमालेबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र रमेश बडालले निर्णायक भुमिका खेलेका थिए ।