काठमाण्डु-सत्तारुढ दल एमालेले आज राजधानीमा जागरणसभाको नाममा शक्ति प्रदर्शन गर्दैछ । जागरणसभा अपरान्ह साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुनेछ ।
सभा अघि बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्नेछ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने छन् ।
एमाले विधिको शासनमा र कानुनी राज्यको मान्यतामा विश्वास गर्छ भन्ने सन्देश दिन जागरण सभा गर्न लागेको एमालेका नेताहरूले दाबी गरेका छन् । जनप्रदर्शनमा एमालेका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसङ्गठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।
प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले सरकारको काम कारबाही र कार्यशैलीको आलोचना गर्दै सङ्घर्षका कार्यक्रम चलाइरहेका बेला सत्तारूढ दलमात्रै नभएर सरकारको नेतृत्वकर्ता दल एमाले नै सडकमा शक्ति प्रदर्शनमा उत्रन लागेको हो ।
सभालाई सफल बनाउन एमालेले भक्तपुर, ललितपुर र काठमाडौंसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो सङ्ख्यामा मानिस ल्याउने तयारी गरेको छ ।
यस्तै आज नै काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाईँ समर्थकको र माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन रहेकाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने छ ।
प्रतिक्रिया