काठमाण्डु-सरकारको नेतृत्व गरिरहेको एमालेले काठमाडौंमा जागरणसभा गर्ने भएको छ ।
अराजकताविरुद्ध सामाजिक सद्भाव, राष्ट्रिय एकता र राजनीतिक स्थिरताको सन्देश दिन जागरणसभा गरिने एमाले जनाएको छ । मंसिर ७ गते काठमाडौंमा जागरणसभा गरिने निर्णय भएको स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । सभा तयारीका लागि जनसंगठन र सम्पर्क मञ्च परिचालन गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको संयुक्त आयोजनामा जागरणसभा हुनेछ । विपक्षी दलहरूले सरकारको आलोचना गर्दै विभिन्नखाले संघर्षका कार्यक्रम गरिरहेको वेला सत्तारूढ दल एमालेले पनि शक्ति प्रदर्शन गर्न लागेको हो ।
विपक्षी दलहरूले सरकारको नीति र नियतमाथि प्रश्न उठाउँदै दबाबमूलक कार्यक्रम गरिरहेको बेला एमालेले सडकबाटै प्रतिवाद गर्ने रणनीति अपनाएको हो।
माओवादीले कात्तिक १० गते भ्रष्टाचार र बेथितिविरुद्ध काठमाडौंमा खबरदारी सभा गरेको थियो । यस्तै रास्वपाले पनि अध्यक्ष रवि लामिछानेलाई सहकारी ठगीको आरोपमा पूर्वाग्रह राखेर हिरासतम लिएको भन्दै विरोधमा सरकारविरुद्ध आन्दोलन गरिरहेको छ ।
‘विपक्षीले भ्रष्टाचार र सुशासनको मुद्दामा सरकारमाथि सार्वजनिक रूपमै दबाब बढाएपछि त्यसको जवाफ लिन हामीले जागरणसभा गर्न लागेका हौं’ गौतमले भने ।
सरकारले गरिरहेका काम, सार्वजनिक रूपमा उठिरहेका प्रश्नको प्रस्टीकरणदेखि जागरणसभामार्फत लोकतन्त्रको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका कतिपय शक्तिलाई सन्देशमूलक जवाफ दिने उनले बताए । ‘यो कुनै शक्ति प्रदर्शन होइन, सन्देशमूलक सभा हो’, उनले भने ।
सरकारमा भए पनि जागरणसभा सरकारलाई समेत सचेत गर्दै सही दिशामा अघि बढ्न प्रेरित गर्ने उद्देश्य रहेको गौतमको भनाइ छ ।
‘सरकारले सामाजिक सद्भाव, एकता, अराजकता नियन्त्रण र सुशासन कायम गर्ने, विकासको काम अगाडि बढाएर जनअपेक्षा पूरा गर्नुपर्छ,’ गौतमले भने ।
प्रतिक्रिया