प्रधानमन्त्री जानु अघि नै चीन जाँदै एमाले नेताहरू

प्रधानमन्त्री जानु अघि नै चीन जाँदै एमाले नेताहरू


काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण अघि एमालेका नेताहरू मंगलबार चीन जान लागेका छन् । एमालेको परराष्ट्र मामिला विभागका सदस्यहरू चीन जान लागेका हुन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको नेतृत्वमा १५ सदस्यीय टोली चीन जान लागेको हो । सचिव लेखनाथ भट्ट, सम्झना देवकोटा, शान्ति ढकाल, सरिता भुसाल, टंक बराल, दीपेन्द्र श्रेष्ठसहितका नेताहरू टोलीमा छन् । ।

चीनको अन्तर्राष्ट्रिय विभाग आइडिसीपीसीले आयोजना गर्न लागेको दोस्रो ग्लोबल साउथ चीन थिंक टैंक फोरमको सम्मलेनमा सहभागी हुन एमालेका नेताहरू चीन भ्रमणमा जान लागेका हुन् । फोरम नोभेम्बर १३ देखि १५ तारिखसम्म हुँदैछ ।

ग्लोबल साउथ चीन थिंक टैंक फोरममा नेपालसहित १४० देश सहभागी छन् । फोरममा विभिन्न देशका शीर्ष नेता तथा वुद्धिजीविहरूको उपस्थिति रहनेछ ।

भ्रमणका क्रममा एमाले टोलीले नेपाल–चीन सम्बन्धका विभिन्न आयामबारे चिनियाँ नेताहरूसँग छलफल गर्नेछ । सम्मेलनमा एमाले उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसका साथै प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमणमा नेपालले उठाउने एजेन्डाबारे पनि टोलीले चिनियाँ नेताहरूसँग छलफल गर्ने परराष्ट्र मामिला विभागका सदस्य श्रेष्ठले जानकारी दिए ।

सम्मेलन सम्पन्न भएपछि एमाले टोली राजधानी बेइजिङ जानेछ । त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष तहका नेताहरूसँग भेटघाट हुनेछ । टोली नोभेम्बर २१ तरिखमा स्वदेश फर्कने छ ।