एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै


काठमाण्ड-सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । बैठकमा दुवै दलका अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ।

च्यासलमा बिहान ११ बजेदेखि एमाले बैठक सुरु हुँदैछ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसपटक प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था गरिएको छ, जहाँ प्रत्येकलाई करिब तीन मिनेट समय दिइनेछ ।

बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा विचार प्रकट गर्नेछन् । प्रतिवेदनमा आगामी कार्ययोजना, संगठन सुदृढीकरण, सरकार गठन, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समावेश छन् । बैठक दुई दिनभित्र सक्ने तयारी छ ।

यसअघि पुस १८ गते सचिवालय बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । ओली नेतृत्वमा सरकार गठनपछिको पहिलो केन्द्रीय समिति बैठकले संविधान संशोधनलगायतका मुद्दामा धारणा तय गर्नेछ ।

यसैगरी अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प ः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ ।

बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।