काठमाडौं– नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकीककरण निर्णायक मोडमा पुगेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एकीकरण पश्चात बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय बनाउने सहमति भएको छ। तीमध्ये एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय जना हुनेछन्।
पार्टी एकता नहुने हो कि भन्ने आशंका बढिरहेका बेला ओली–प्रचण्डबीच बुधबार बिहान भएको भेटमा यस्तो सहमति भएको हो।
पार्टी एकीकरण पश्चात चुनाव चिह्न हाल एमालेले प्रयोग गर्दै आएको सूर्य रहनेछ। आगामी महाधिवेशनसम्म दुवै अध्यक्षले सामूहिक नेतृत्व गर्नेछन्।
दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा सहमति भइसकेको छ।
यसैबीच, बुधबार नै बसेको एमालेको स्थायी कमिटी बैठकले एकता प्रक्रिया निर्णायक बिन्दुमा पुगेको ठहर गरेको छ। चाँडै मिति घोषणाका लागि पार्टी एकता संयोजन समितिको बैठकलाई पर्खिने निर्णय गरेको छ।
प्रचण्डसँगको भेटवार्तामा एक÷दुई दिनमै पार्टी एकता हुने सहमति भएको ओलीले बैठकमा जानकारी गराएको एमालेका सचिव एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए।
गत असोज १७ गते चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए ।
प्रतिक्रिया