एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजपनि बस्दै

एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजपनि बस्दै


काठमाण्डु-सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमवार पनि जारी रहने छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने छ । बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्ने छन् । बैठक आइतवारदेखि सुरु भएको हो ।

आइतवार आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्ने र त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ ।

आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

यस्तै माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक पनि बस्दैछ । बैठक आइतबार धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा सुरु भएको थियो ।

बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त राजनीतिक प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदनमा माओवादी अब जनतामा फर्कनुको विकल्प नभएको उल्लेख छ । आइतबारको बैठकमा भौगोलिक र गैरभौगोलिक गरी १२ प्रदेश संरचनाका अध्यक्ष वा प्रतिनिधिले संगठनात्मक रिपोर्टिङ गरेका थिए । बैठक पुस २४ गतेसम्म चल्नेछ ।