एमाले – माओवादी पार्टी एकताको घोषणा चैतमा हुने

एमाले – माओवादी पार्टी एकताको घोषणा चैतमा हुने


काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको गृहकार्य गर्न गठित दुई कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दल सम्मिलिन संयुक्त कार्यदलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्देशन दिएका हुन् । दुई अध्यक्षको निर्देशन अनुसार दुबै कार्यदलले आगामी २५ गतेभित्र प्रतिवेदन एकता संयोजन समितिलाई बुझाउने निर्णय भएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमाले माओवादी नेताहरुले फागुन ७ गते पार्टी एकताको सातबुंदे आधारमा हस्ताक्षर गरेका थिए । साथै पार्टीको संगठन र अन्तरिम विधान बनाउन दुई कार्यदल बनाएको थियो । संगठन निर्माणसम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, बेदुराम भुषाल र रघुवीर महासेठ छन् भने माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मातृका यादव छन् ।

यस्तै पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् । उक्त कार्यदलले पनि एकीकृत पार्टीको अन्तरिम विधानको तय गरी समितिलाई २५ गतेभित्र बुझाउनु पर्नेछ । मंगलबार नै एमाले र माओवादीबीच एकताबारे ७ बुंदे आधारपत्रमा समझदारी भइसकेको छ । दुवै कार्यदलमा माधव नेपाल र रामबहादुर थापालाई संयोजक बनाइएको छ ।