प्रचण्डको गृहजिल्ला चितवनमा एमाले बलियो, सात स्थानीय तहमा यसरी हुनेछ प्रतिस्पर्धा

प्रचण्डको गृहजिल्ला चितवनमा एमाले बलियो, सात स्थानीय तहमा यसरी हुनेछ प्रतिस्पर्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवन सधैँ चर्चामा रहने जिल्ला हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला र निर्वाचन क्षेत्र तथा छोरी रेनु दाहाल भरतपुरको मेयर भएकाले पनि यो जिल्ला बारम्बार चर्चामा आइरहन्छ ।

चितवनमा एक महानगर, पाँच नगर र एक गाउँपालिका गरी सातवटा स्थानीय तह छन् । ०७४ सालको स्थानीय चुनावमा जिल्लामा एमालेले धेरै तहमा जितेको थियो । महानगरमा कांग्रेस र माओवादी मिलेर लडेका थिए भने अन्यमा तीन दलबीच प्रतिस्पर्धा भएको थियो । एमालेले चारवटा पालिकामा मेयर–उपमेयर जितेको थियो ।

त्यसबाहेक उसले थप एउटा उपमेयर पनि जित्यो । कांग्रेस एक प्रमुख र दुई उपप्रमुख मात्रै जित्न सफल भयो । माओवादीले दुईवटा प्रमुख जित्यो । जिल्लामा सबैभन्दा ठूलो दल बनेको एमालेले रत्ननगर, राप्ती, कालिका र खैरहनी नगरपालिकामा मेयर–उपमेयर दुवै जित्यो । उसले माडी नगरपालिकामा उपमेयरसहित जिल्लाका १४ मुख्य पदमध्ये नौवटामा कब्जा जमाएको थियो ।

माओवादीले कांग्रेससँग मिलेर भरतपुर महानगरको मेयर र एक्लै लडेर माडी नगरपालिकाको मेयर जित्यो । कांग्रेसले इच्छाकामना गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष तथा भरतपुर महानगरको उपमेयर जितेको थियो ।

आसन्न चुनावमा पनि मुख्यतः यिनै तीन दलबीच प्रतिस्पर्धा देखिन्छ । भरतपुरको मेयर फेरि एकपटक माओवादीले नै पाउने भएको छ । यो महानगरमा कांग्रेसको उपमेयर लड्ने तयारी छ । अन्य पालिकामा गठबन्धन बन्ने–नबन्ने अझै टुंगो लाग्न सकेको छैन । अघिल्लो चुनावमा एमालेले जितेका सबै स्थानीय तहमा कांग्रेस दोस्रो र माओवादी तेस्रो भएका थिए ।

राप्तीबाहेकका नगरपालिकामा कांग्रेस र माओवादीको मत मिलाउँदा विजयी एमालेको भन्दा बढी हुन्छ । त्यसैले यदि जिल्लाभरि नै सत्तासाझेदार दलबीच गठबन्धन बन्यो भने एमाले एउटा मात्रै स्थानीय तहमा खुम्चनुपर्ने हुन सक्छ । राप्तीमा भने अन्य सबै दल मिल्दा पनि एमालेको मत बढी हुन्छ ।

चितवनका केही तहमा राप्रपाको पनि उल्लेख्य मत छ । माओवादीले मेयर जितेको माडीमा राप्रपासहित चारवटै दलले तीन हजारभन्दा बढी मत ल्याएका थिए । कांग्रेस र माओवादीबीच तालमेल भए एमालेले राप्रपासँग गर्न सक्छ ।

चितवनको चुनावको भावी परिणाम पनि मुख्यतः दलीय समीकरणमा निर्भर छ । सत्तासाझेदार दलबीच तालमेल भएन भने फेरि पनि एमालेले नै धेरै स्थानीय तह जित्नेछ । तर, उसले अघिल्लोपटकको नतिजा दोहोर्‍याउन भने मुस्किल छ । किनकि पार्टी विभाजनको असर पनि जिल्लामा परेको छ । गठबन्धन बन्यो भने एमाले निकै कम संख्यामा खुम्चने देखिन्छ ।

यद्यपि, चितवनका कांग्रेस कार्यकर्तामा अहिले देखिएको असन्तुष्टि चुनावसम्मै कायम रह्यो भने एमालेलाई केही सहज हुन सक्छ । एकीकृत समाजवादीले कति मत काट्छ भन्नेले पनि एमालेको नतिजामा अर्थ राख्नेछ । यसबाहेक थपिएका मतदाता र उम्मेदवारको प्रभावले पनि चुनावी परिणाममा धेरथोर प्रभाव पर्न सक्नेछ ।

चितवनमा आगामी चुनावका लागि जम्मा ३ लाख ९७ हजार ६ सय ८५ मतदाता छन् । तीमध्ये १ लाख ९३ हजार १८ पुरुष र २ लाख ४ हजार ६ सय ६६ महिला छन् । एकजना अन्य छन् ।

हेर्नुस्, चितवनका ७ वटै स्थानीय तहमा ०७४ सालको निर्वाचन परिणाम इन्फोग्राफमा ।