ललितपुरको यूएन पार्कमा प्रहरीद्वारा गुन्डा नाइके लामामाथि गोली प्रहार

ललितपुरको यूएन पार्कमा प्रहरीद्वारा गुन्डा नाइके लामामाथि गोली प्रहार


काठमाडौं – ललितपुरको यूएन पार्कमा सोमबार दिउंसो करिब साढे १ बजेतिर प्रहरीसँग एक गुन्डा नाइकेबीच इन्काउण्टर भएको छ ।

ज्यान मुद्धा र सार्वजनिक अपराध मुद्धामा प्रहरीको खोजीको सूचीमा रहेका अशोक लामा पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले गोली चलाएको हो ।

विभिन्न अपराधमा पक्राउ परिसकेका र पछिल्लो समय व्यापारीलाई धम्क्याउँदै आएको सूचना प्रहरीसँग थियो । ललितपुरको युएन पार्क नजिकै पक्राउ गर्न खोज्ने क्रममा भागेपछि गोली हानिएको महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए ।

 लामाले ललितपुरका क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरुलाई धम्क्याउँदै आएका थिए। उनीसँगै रहेका २ जना भने भागेको एसएसपी सिंहले जनाए। घटनास्थलबाट प्रहरीले एउटा पस्तोल र दुई राउण्ड गोली समेत बरामद गरेको छ । लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

को हुन् लामा ?

गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए । उनले ललितपुरको सातदोबाटो लगायका क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो । उनी काभ्रेली समूहका दावा लामाको समेत सहयोगी भएको प्रहरीको भनाइ छ ।