काठमाडौं – संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (यूएनएफपीए)का कार्यकारी निर्देशक डा. नतालिया कानेम पहिलोपटक काठमाडौँ आइपुगेकी छन् ।
कार्यकारी निर्देशकमा दुई वर्ष अघि नियुक्त भएकी डा. कानेम यूएनएफपीएबाट उच्चस्तरीय दुई दिने भ्रमणका लागि नेपाल आएकी हुन् ।उनकोे यो पहिलो औपचारिक नेपाल भ्रमण हो । उनीसँगै एशिया र प्रशान्तका लागि यूएनएफपीएका क्षेत्रीय निर्देशक बियोन एन्डरसन र यूएनएफपीएका चीफ अफ स्टाफ पियो स्मिथ पनि काठमाडौं आएका छन् ।
सन् २०१९ मा यूएनएफपीएको ५०औँ वार्षिकोत्सव तथा जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी) को २५औं वार्षिकोत्सव मनाइँदै छ । सन् १९९४ मा इजिप्टको राजधानी कायरोमा सम्पन्न आइसिपिडी सम्मेलनमा नेपाल लगायत विश्वका १७९ राष्ट्रहरुले हस्ताक्षर गरेका थिए ।
कायरो सम्मेलनको दूरदृष्टि तथा सन् २०३० सम्म यस सम्मेलनको कार्ययोजनाको पूर्ण कार्यान्वयनमा नेपाल सरकारको प्रतिबद्धतामा नेपालले हालसम्म हासिल गरेको उपलब्धीहरुसँग साक्षात्कार हुनका उनी नेपाल भ्रमणमा आएको जनाइएको छ ।
‘नेपालले विगत २५ वर्षमा आइसिपिडी कार्ययोजना अन्तर्गत गम्भीर चुनौतीहरुको वावजुद पनि अत्यन्तै महत्त्वपूर्ण पाइलाहरु चालेको छ,’ कार्यकारी निर्देशक डा. कानेमले भनिन्, ‘कार्ययोजनाका अझै बाँकी अधुरा कामहरुलाई तुरुन्तै सम्बोधन गर्ने समय आइसकेको छ । गत वर्ष नेपाल सरकारले जारी गरेको सुरक्षित मातृत्व र प्रजनन् अधिकार सम्बन्धी ऐन न्यायीक व्यवस्थाको उल्लेखनीय अंश हो । जसले कायरोमा सर्वसहमति भएका लक्ष्य प्राप्तिको प्रयत्नलाई तीव्रता दिन सहयोग गर्छ । साथै यी लक्ष्यहरुलाई आगामी महिना नैरोबीमा पुनः पुष्टि र पुनः प्रतिवद्धता गरिनेछ ।’
प्रतिक्रिया