एमाले–माओवादी एकता : एकीकृत केन्द्रीय समिति २९९ सदस्यीय, जनयुद्ध शब्द र चुनाव चिह्नमा सहमति जुटेन

एमाले–माओवादी एकता : एकीकृत केन्द्रीय समिति २९९ सदस्यीय, जनयुद्ध शब्द र चुनाव चिह्नमा सहमति जुटेन


काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकृत केन्द्रीय समिति २९९ सदस्यीय बनाउन प्रस्ताव आएको छ । पार्टी एकताको खाका तय गर्न गठन गरिएको सांगठनिक तथा विधान मस्यौदा कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति बनाउन सहमति जुटाएको छ । पार्टी एकता संयोजन समितिले कार्यदलमा जुटेको प्रतिवदेनलाई अनुमोदन गरेमा केन्द्रीय समिति २९९, पोलिटब्युरो ९९ सदस्यीय र स्थायी समिति ३३ सदस्यीय रहने प्रस्ताव गरेको हो ।

केन्द्रयी कमिटीभन्दा एक तह तल्लो प्रदेश कमिटी १५० सदस्यीय रहने प्रस्ताव गरिएको छ । सातै प्रदेशमा समान संख्या रहने कि फरक फरक भन्ने टुंगो लाग्न सकेको छैन ।

जिल्ला कमिटी ७५ देखि अधिकतम १२५ सम्म रहने प्रस्ताव गरिएको छ । निर्वाचन (प्रतिनिधि र प्रदेश) ७५ सदस्यीय, महानगर कमिटी ७५ सदस्यीय र उपमहानगर कमिटी ६१ सदस्यीय रहने प्रस्ताव गरिएको एमाले नेता तथा कार्यदल सदस्य बेदुराम भुसालले जानकारी दिए । नगरपालिका कमिटी र गाउँपालिका कमिटीहरू ५१ सदस्यीय, वडा कमिटी २५ सदस्यीय र प्रारम्भिक कमिटी १५ सदस्यीयसम्म रहने उल्लेख छ ।

चुनाव चिह्नमा विवाद
जनयुद्ध र चुनाव चिह्नको विषयमा भने सहमति हुन सकेन । गत ७ फागुनमा पार्टी एकता संयोजन समितिमा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने, कार्य्दिशा माक्र्सवाद, लेनिनवाद रहने र लक्ष्य साम्यवाद हुने सहमति भइसकेको छ । एकताको खाका तय गर्न गठित कार्यदलमा एकीकृत पार्टीको चुनाव चिह्नमा भने सहमति जुटेको छैन ।

एमाले नेताहरूले सूर्यलाई नै एकीकृत पार्टीको चुनाव चिह्नका रूपमा प्रयोग गर्न प्रस्ताव गरेका छन् । माओवादी केन्द्रका नेताले भने त्यसलाई अस्वीकार गरेपछि सहमति जुट्न सकेन । माओवादी नेताले सूर्य्भित्र गोलाकारभित्रको हसियाँ हतौडा चुनाव चिह्नका रूपमा प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका छन् । दुई दलले नै आफ्नो अडान नछाडेपछि यो विषय अब पार्टी एकता संयोजन समितिमै पुग्ने भएको छ ।
विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने विषयमा पनि सहमति हुन सकेन । एमाले नेताहरूले जनयुद्ध शब्द राख्न अस्वीकार गरेका छन् भने माओवादी केन्द्रका नेताहरू भने जनयुद्ध शब्द राख्नुपर्ने अडानमा छन् । कार्यदलमा ७० वर्षे उमेर हदको विषयमा पनि मिल्न
बाँकी छ ।

प्रमको भारत भ्रमणअघि एकता कठिन
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि पार्टी एकीकरण गर्ने लक्ष्य पूरा नहुने भएको छ । कार्यदलमा केही विषयमा सहमति जुट्न नसकेपछि एकता प्रक्रिया पछाडि धकेलिने संकेत देखा परेको छ । पार्टी एकता संयोजन समितिले एकताको खाका तय गर्न गठित दुई कार्यदलले विवादका कारण प्रतिवेदन बुझाउन ढिलाइ गरेपछि प्रधानमन्त्रीको भारत भ्रमणअगावै दुई पार्टीबीचको एकता कठिन बन्दै गएको हो ।

प्रधानमन्त्री ओलीले चैत अन्तिम साता भारत भ्रमणको तयारी गरेका छन् । उनले भारत भ्रमणअघि नै दुई पार्टी एकता सम्पन्न गर्ने तयारी गरेका थिए । माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य जनार्दन शर्माले सबै विषयमा सहमति भए मात्र भ्रमणअघि एकता हुने बताए । राजनीतिक प्रतिवेदन तयार भइनसकेका, एकता संयोजन समितिबाट अनुमोदनसँगै दुवै पार्टीले एकतालाई अनुमोदन गर्नुपर्ने भएकाले भ्रमणअघि नै एकताको सम्भावना कमजोर बन्दै गएको उनले बताए ।

रामबहादुर थापा संयोजकत्वको सांगठनिक तथा विधान मस्यौदा कार्यदलले मस्यौदा बुझाउन सकेको छैन । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको राजनीतिक मस्यौदा कार्यदलले आज (बिहीबार) बैठक बसेर अन्तिम टुंगो लगाउने कार्यदल सदस्य देवेन्द्र पौडेलले बताए ।
पार्टी एकता संयोजन समितिले ७ फागुनमा गठन गरेका दुईवटा कार्यदलले २५ फागुनभित्र प्रतिवेदन बुझाउने समयसीमा पाएको थियो । २५ फागुनमा प्रतिवेदन बुझाउन नसकेपछि ५ चैतसम्मका लागि म्याद थपिएको थियो । सो समयमा पनि कार्य सम्पन्न नभएपछि १० चैतसम्मका लागि थपिएको समयसीमामा पनि दुवै कार्यदलले प्रतिवेदन बुझाउन सकेका छैनन् ।