नेपाली र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

नेपाली र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता


काठमाण्डु – लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्यको सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारमा सोमबार भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको छ ।

समझदारीअनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्ने जनाइएको छ ।

बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गत मंसिर १७–२० गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा चीनसँग स्वयंसेवी चिनियाँ भाषा शिक्षण सम्बन्धी समझादारी भएको थियो ।

प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति ओलीले नेपाल र चीनबीच शताब्दीऔंदेखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै २ देशबीच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुशी व्यक्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीता कुमारी पौड्याल अधिकारी, लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य र नेपालस्थित चिनियाँ दूतावासका अधिकारी लगायतको उपस्थिति थियो ।