बागलुङ–बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आवद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट मासुसँगै ऊनको कपडासमेत बिक्री हुँदा किसान उत्साहित हुँदै आएका हुन् ।
दशक अगाडिसम्म भेडाको ऊनबाट बनेका कपडा गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ । विदेशबाट माग बढ्न थालेपछि भेडापालक किसान उत्साहित बनेका छन् । भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घाम पानी छेक्ने, वर्षौँ टिक्ने र न्यानो हुने भएकाले माग बढेको किसान बताउँछन् ।
यहाँका अधिकांश स्थानीयले सयौँको सङ्ख्यामा भेडापालन गर्छन् । काम्लो, बख्खु, घुमलाई गोठालाको कपडा भन्ने गरिन्छ । एउटै परिवारले पाँच सयदेखि एक हजार पाँच सयसम्म भेडाबाख्रा पाल्ने गरेका ढोरपाटन नगरपालिका–९ का बिर्खबहादुर पुनले बताए। ‘भेडाबाख्राको सङ्ख्या बढी भएकाले ऊन प्रशस्त उत्पादन हुन्छ । मासु र ऊनका कपडाबाट भेडापालक किसानले राम्रो आम्दानीसमेत गर्दै आएका छन्’, उनले भने ।
मासु स्थानीयस्तरमा बिक्री हुने गरेको भन्दै त्यसबाट बन्ने कपडा देशविदेशमा निर्यात हुने गरेको पुनले जानकारी दिए । ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उनको भनाइ छ ।
पहिले–पहिले गोठालाले लगाउने ऊनका कपडा अहिले विदेश निर्यात हुँदा अचम्म लाग्ने पुनले बताए । एक दशक अगाडि काम्लो, बख्खु, घुम लगाउने मान्छेलाई लेकाली र गोठालाको सङ्ज्ञा दिने गरिएकामा अहिले विदेशमा बस्नेको रोजाइमा यी कपडा पर्न थालेको उनले जानकारी दिए ।
पुनले एउटा काम्लो, हापदुला बुन्न समय बढी लाग्ने भन्दै ती सामान विदेश पठाउँदा आम्दानी पनि प्रशस्त हुने बताए । एउटा ऊनको कपडाको मूल्य न्यूनतम रु १५ हजारदेखि रु ६० हजारसम्म पर्ने उनले जानकारी दिए ।
आफूहरुले लेकमा उत्पादन गर्ने काम्लो, बख्खु, घुम जापान, कोरिया, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायत देशमा निर्यात हुने गरेको पुनले बताए ।
‘हामीहरुले घुम, काम्लो ओड्दा भेडाको ऊनको कपडा लगाउने मान्छे भनेर हेपेर गोठाले भन्थे। अहिले धेरैले ऊनको कपडा चाहियो भन्नुहुन्छ, खुसी लाग्छ । गाउँघरसँगै विदेशबाट बढी माग गर्नुहुन्छ’ उनले भने, ‘भेडा पालेर पहिले मासु बेच्थ्यौँ। अहिले त्यसको रौँबाट बनेका कपडा बेच्न थालेका छौँ । नयाँ प्रविधिको प्रयोग गरी कपडा बुन्दा सहज हुन्थ्यो होला, हामीसँग प्रविधि नहुँदा पुरानै सीपको प्रयोगबाट कपडा बनाउने गरेका छौँ।’
निसीखोला गाउँपालिका–६ का वीरमानबुढा मगरले आफूहरु सानो हुँदा चप्पल, सिरक, डसना र अन्य कपडा पाउन मुस्किल हुने गरेको स्मरण गर्दै उतिबेला ऊनबाट बनेका कपडा प्रयोग गर्ने गरेको बताए । पछिल्लो समय भेडा पाल्ने किसान घट्दै गएको भन्दै ऊनको कपडाको माग भने बढ्दै गएको उनको भनाइ छ ।
मगरले चार पुस्तादेखि भेडा पाल्दै आएको सुनाउँदै आफूपछिको पुस्ताले चासो नदिएको गुनासो पोखे । उनले भने, ‘पुस्ताले परम्परागत सीप सिक्न मान्दैनन्, हाम्रो पालामा कपडाको अभाव थियो, अभावले ऊनको कपडा बनाएर लगाउन सिकायो । अहिले बजारमा आधुनिक कपडा पाउँछ, त्यही भएर युवापुस्ता सीप सिक्न चाहदैनन् । अहिले यहाँबाट विदेश गएकाले फोन गरेर मलाई काम्लो, हापदुला चाहियो पठाइदिनुस् भन्छन्।’
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलालबुढा मगरले ऊनका कपडा बनाउनका लागि किसानलाई आधुनिक प्रविधिसँग जोड्ने योजना बनाइएको बताए । तमानखोलाका अधिकांश किसानले भेडापालन गर्दै आएको भन्दै किसानलाई आधुनिक उपकरणसहित आधसनिक सीप सिकाउने योजनामा पालिका रहेको उनले जानकारी दिए ।
किसानलाई भेडापालनतर्फ आकर्षित गर्ने र आयआर्जनसँग जोड्ने गरी योजनाबद्ध रुपमा काम गरिरहेको अध्यक्ष बुढा मगर बताए ।रासस
प्रतिक्रिया