वासिङटन- अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर संकलन गरिएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि विरोधका लागि जम्मा भएका दर्जनाैँ प्रदर्शनकारीहरुले सो आक्रमणका विरुद्ध शनिबार हस्ताक्षर संकलन गरेका हुन् ।
अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतसमेतले सिरियामा शनिबार बिहानै आक्रमण सुरु गरेको २४ घण्टा पनि नवित्दै उनीहरुले हस्ताक्षर संकलन सुरु गरेको समाचारमा जनाइएको छ । प्रदर्शनकारीहरुले पहेँलो व्यानर सहित ‘सिरियालाई मुक्त गर’, ‘सिरियामा अमेरिकाको युद्ध हुदैन’ ‘सिरियामाथिको बम आक्रमणले मानवलाई फाइदा गर्दैन, यस्ले उनीहरुलाई मार्छ,’ जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए ।
उनीहरुले युद्धतर्फको बाटो छोडेर शान्तिको मार्ग रोज्न पनि आह्वान गरेका थिए । उनीहरुले विभिन्न सहरहरुमा शृंखलाबद्ध रुपले प्रदर्शन गरेका छन् । सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रहरूमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका हुन् ।
यो हमला अहिलेको लागि पूरा भएको अमेरिकाले बताएको छ । अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारहरुको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको जनाएको छ ।यसबाट हजारौँ नागरिक मारिएको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए ।
सुरक्षा परिषदको आकस्मिक बैठक
यसैबीच सो आक्रमणको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आकस्मिक बैठक शनिबार बसेको छ । सो बैठकमा उपस्थित संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुथ्रेसले सिरियाका बारेमा गम्भीर भएर सोच्न आग्रह गरेका थिए । उनले सिरियाको वर्तमान अवस्था अत्यन्तै नाजुक रहेकोले यसको समाधान सोही अथवा गम्भीर रुपमा नै सोच्नुपर्नेमा जोड दिए ।
उनले सिरियाले रासायनिक हतियारहरुले आक्रमण गरेर नागरिक हत्या गर्नु ठूलो भूल हो भन्दै तर त्यसका विरुद्धमा हतियारकै कारबाही पनि राष्ट्रसंघले सोचेको विकल्प नभएकाे बताए ।
रुसको कडा विरोध
सो बैठकमा रुसले भने उक्त आक्रमणको विरोध गरेको छ । संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूतले सो आक्रमणको विरोध गरेका छन् । उनले सिरियामा बिना सूचना र तीन वटा देशको सेनाले एकै पटक हवाई हमला गरेर अन्तर्रा्ष्ट्रिय कानुनको अपव्याख्या र उल्लंघन गरेको आरोप लगाए ।
सिरियाद्वारा निन्दा
यसैबीच उक्त हमलाको सिरियाले निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघका लागि सिरियाली राजदूत बसर जा अफारीले अमेरिकी नेतृत्वको सो हमलाको निन्दा गरेका हुन् । राजदूत अफारीले भने ‘अमेरिकी नेतृत्वका ती देशले गरेको सो हमला अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुन विपरीत भएको भन्दै उनले पहिलेको दोस्रो विश्वयुद्धपछिको शीतयुद्धकालीन अवस्था पुनः फर्किएको धारणा पनि राखे । रासस/सिन्ह्वा
प्रतिक्रिया